अनितादेवी साहले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शपथ लिँदै

काठमाडौँ । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको शपथ लिनुहुने भएको छ । 

आज बिहान १०ः०० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उहाँको नाम धेरै अघिदेखि पठाएका थियौँ । आज बिहान १० बजे राष्ट्रपति भवनमा शपथका लागि खबर आएको छ ।”

जनमत पार्टीको सचिव समेत रहनुभएका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । मन्त्रालयको जिम्मेवारी पाउने खबरले आफू उत्साहित र जिम्मेवार महसुस गराएको साहले  बताउनुभयो । 

“पार्टीबाट स्थानीय तहमा उम्मेदवारीको अवसर पाएको थिएँ”, उहाँले भन्नुभयो, “पार्टीको हरेक तहतप्कामा दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरेँ । अहिले पार्टीले विश्वास गरेरै यो जिम्मेवारी दिएको छ । उत्साहित छु, जनताप्रति उत्तरदायी हुने प्रयास गर्नेछु ।” 

 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ४२ बजे