निरन्तरको वर्षाले देशैभरका उडान प्रभावित

काठमाडौं- निरन्तरको वर्षाका कारण मौसम प्रतिकुल हुँदा देशभरिकै विभिन्न विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । काठमाडौंको मौसम तुलनात्मक रुपमा कम प्रतिकूल रहेको भएपनि अन्य विमानस्थलको मौसम विग्रिदाँ करिब १५ प्रतिशत उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा खराब मौसमकै कारण दुइवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन भने अन्य विमानस्थलको मौसमका कारण धेरैवटा आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

देशभरि दैनिक सरदर ८० वटा अन्तर्राष्ट्रिय र १०५ वटा आन्तरिक उडान हुने गरेकोमा त्यसमध्ये १५ प्रतिशत उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मौसम प्रतिकुल भएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चितवनबाट काठमान्डौ फर्किने कार्यक्रममा पनि ढिलाई भएको छ । विहान ७.३५ बजे काठमान्डौंतर्फको उडान हुने कार्यक्रम रहेकोमा विहानको उडान स्थगित भएपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो १.३५ बजेको उडानबाट काठमान्डौं फर्किनुभयो ।

काठमान्डौंको मौसमका कारण भन्दा पनि अन्य आन्तरिक विमानस्थलमा भिजिबिलिटी कम भएका कारण धेरै उडानहरु रद्द तथा स्थगित भएको विमानस्थलका प्रवक्ता प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

मौसम प्रतिकूल भएकै कारण विहान ६ बजेदेखि नै उडानहरु प्रभावित भएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै पानी भएका कारण केही अन्तर्राष्ट्रिय उडानहरु भने प्रभावित भएका छन ।

भारतको नयाँदिल्लीबाट काठमान्डौतर्फ आएको एयर इण्डियाको जहाज भारतको बनारस अवतरण गरेर केही समयपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । त्यसैगरी चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् ।

भुटानबाट ड्रुक एयरलाइन्सको जहाज काठमान्डौ आउने कार्यक्रम रहेकोमा खराब मौसमकै कारण भुटानबाटै उडान स्थगित गरिएको विमानस्थलले जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिवारदेखि तीन दिनसम्म लगातार भारी वर्षा हुने जानकारी गराएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : १५ बजे