मृत्यु प्रकरणका दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग आग्रह

काठमाडौँ । राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला कुमारी पराजुलीले आरती शाहको मृत्यु प्रकरणका दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

धनुषाकी आरती शाहको मृत्यु प्रकरणका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारले नसकेको भन्दै उनका परिवारले न्यायको लागि झन्डै दुई महिनादेखि काठमाडौँको माइतीघरमा अनसन बसिरहेका छन् । आरतीको आमा, बहिनी मनीषा शाह, भाइ प्रेम धिरज शाह, विनोद शाह न्याय माग्दै अनसनमा बसिरहेका छन् ।

उक्त अनसन बसिरहेका परिवारको अवस्था बुझ्न तथा दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउनु माग गर्दै आयोगको अध्यक्ष पराजुलीले भेटवार्ता गर्नुभयो । भेटवार्ताका क्रममा पीडितलाई न्याय दिन सरकारले गम्भीरता नदेखाएको भन्दै आक्रोश जनाउनुभयो । उहाँले पीडितलाई न्याय दिन गृह मन्त्रालयलाई विशेष ध्यानाकर्षण गरिएको जानकारी गराउनुभयो । गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएता पनि दोषीलाई कानुनी कारबाही गर्न नसक्नु गृह प्रशासनको कमजोरी रहेको औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, 'यो मध्ये वर्षामा छोरी गुमाएका आमाबुबा न्यायको खोजीमा यसरी महिनौँ राजधानीको मुटुमा बस्दा पनि सरकार किन बेखवर छ ? सबै पक्षबाट अनेक पहल गरेर पनि सरकारको उदासीनताका कारण अझै पनि पीडित परिवारको गुनासो सुनुवाइ हुन सकेको छैन । घटनाको छानबिन र सबै दोषीहरू अनुसन्धानको घेरामा आएका छैनन् । जसको कारण पीडित परिवारले न्यायको अनुभूति गर्न सकेको छैन । आयोगले यस विषयमा सम्बन्धित पक्षको समेत गम्भीर ध्यानाकर्षण गराइरहेको छ । यस विषयमा राष्ट्रिय महिला आयोगबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री समक्ष पनि कुरा भएर घटनाको बारेमा बताइएको छ । पीडित परिवारलाई न्यायको लागि पहल गरिदिन अनुरोध समेत गरिएको छ । साथै आयोग सरकारको तर्फबाट जति सक्दो चाँडै घटनाको छानबिन गरी संलग्न दोषीलाई कानून बमोजिम कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति सहित न्यायको अनुभूति हुनुपर्छ । हामी उक्त कुरामा दृढताका साथ लागेका छौँ । न्यायको पक्षमा लडाई लडिरहन्छौँ ।’

पीडितले न्यायको माग गरे । आफूहरूले धनुषाबाट काठमाडौँ आएर अनसन बस्नुपर्ने अवस्था आउनु गरिबले न्यायबाट वञ्चित गरे जस्तै गरेको भन्दै गुनासो गरे । आयोगले न्यायको लागि पत्र लेख्ने मात्र नभई निर्णायक पहल गरिदिन आग्रह गरे । कानुनले ‘सानालाई ऐन, ठूलालाई चैन’ गरे जस्तो भएको आक्रोश व्यक्त गर्दै पीडितले न्याय नपाएसम्म अनसन जारी रहने बताए ।

यस्तो घटनाको वास्तविकता

शाहको जेठ ७ गते साँझ ६ बजेर १५ मिनटमा आरती शाहका ससुराले (मदन प्रसाद शाह) सम्धीलाई कल गरेर आरती बेहोस भएर अस्पताल लाँदै छौ, चाँडै आउनुहोस् भनेका थिए । जनकपुर मूख्य बजारबाट ६–७ किलोमिटर टाढा गाउँमा घर भएका आरतीको बुबाले जनकपुर नै मामा घरमा बसेर कलेज पढ्दै गरेकी छोरी ९आरतीकी बहिनी० लाई तुरुन्तै अस्पताल पठाए । उनीहरू मामा–भान्जी अस्पताल पुग्दा केही समय अगावै (६ बजेर ५ मिनेटमै, ससुराले फोन गर्नु अगावै) आरतीलाई डाक्टरले मृत घोषित गरिसकेको थियो । डाक्टरले मृत घोषित गरिसकेपछि आरतीको ससुराले किन त्यो झुटो समाचार बताए रु मृत आरतीको शरीर भरी चोटैचोट थियो । जनकपुर अस्पतालमा उनको पोस्ट मार्टम भयो । तर रिपोर्ट झनै शङ्कास्पद आयो । रिपोर्टले उनलाई झुन्डिएर आत्महत्या भनेको छ, तर उनको शरीर भरिको चोटले पोस्ट मार्टम रिपोर्टलाई असत्य साबित गरिरहेको छ । करिब दुई वर्ष अगाडि विवाह भएकी आरती २३ वर्षकी मात्र हुन् । उनको विवाह भएको केही समयबाटै पटक–पटक माइतीबाट दाइजो कम ल्याएको र अरू दाइजो रकम ल्याउन दबाब दिइरहेको, मानसिक–शारीरिक यातना दिइरहेको कुरा उनले बताई रहेकी थिइन् । तर पनि त्यो सबै कुरा सहँदै आरती घरैमा थिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : २५ बजे