पाकिस्तानले आफ्नो ७६औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनायो

काठमाडौं । पाकिस्तानले आफ्नो ७६औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाएको छ । बिहिबार काठमाडौँ स्थित पाकिस्तान राजदूतावासले एक समारोह आयोजना गर्दै आफ्नो ७६औँ स्वतन्त्रता दिवस मनाएको हो । 

नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसेन हास्मीले आयोजना गर्नुभएको स्वागत समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव सहभागी हुनुभएको थियो ।

उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, उद्योगपति, व्यापारी, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले सन् १९६० मा पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले जलवायुलगायत साझा चासोका विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझेदारी गर्दै आएका बताउनुभयो । आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउँदै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्न पाकिस्तान तत्पर छ भन्नुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक मुलुक नेपाल र पाकिस्तानले शान्ति, समृद्धि र विकासका निम्ति समान दृष्टिकोणका साथ द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका बताउनुभयो । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ३५ बजे