तत्कालीन कृषि सचिव भारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन आयोजना प्रमुख तथा सचिव भारीसहित अन्य सबइन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन नि. निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक (कृषि अधिकृत) गुरुप्रसाद अधिकारी, लेखा अधिकृत उत्तमकुमार बस्नेत, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना,सुर्खेतका लेखा अधिकृत खिमलाल वली, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडा, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका सबइन्जिनियर सुवर्णराज भारती, कर्णाली कोल्ड चेन लजिस्टिक प्रालि, सुर्खेतको सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल, प्रबल शाही र इन्जिनियर महेश शर्माविरुद्ध मुद्दा दायर गरिएको छ ।

‘वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सासमेतको विपरीत हुने गरी निर्माण कार्य गरी गराई र नभए नगरेको निर्माण कार्यलाई भए गरेको भनी नापी किताबमा सहीछापसमेत गरी तथा गुणस्तरहीन कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतबाट कर्णाली कोल्ड चेन लजिस्टिक प्रा।लि।, सुर्खेतलाई भुक्तानी भएको बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ बिगो बराबरको सरकारी हानिनोक्सानी भई भ्रष्टाचारजन्य कसुर भएको,’ अख्तियारको ठहर छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ४ : २५ बजे