सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेपाल क्यान्सर अस्पतालले एकल महिलालाई क्यान्सर रोगको उपचारमा छुट दिने

काठमाडौँ। एकल महिलाहरूलाई क्यान्सर रोगको उपचारमा ललितपुरको हरिसिद्धिस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने भएको छ ।

यस विषयमा आज अस्पताल र मानव अधिकारका लागि महिला, एकल महिला समूहबीच समझादारीपत्रमा सम्झौता भएको छ । समूहको केन्द्रीय कार्यालय, छहारी भवन, बुढानीलकण्ठमा भएको सम्झौता कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ र समूहका अध्यक्ष कविता पाँडेले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । एकल महिला समूहमा करिब ८० हजार सदस्य छन्  ।

सम्झौताबमोजिम रेडियोलोजी, ल्याबोरोटरी, शैया, स्वास्थ्य हेरचाह र निरोगी कार्यक्रममा १० प्रतिशत र रेडिएसन थेरापी र किमोका लागि पाँच प्रतिशत छुट दिइनेछ । नेपाल सरकारले जटिल रोगको शल्यक्रियाका लागि रु एक लाखसम्म अनुदान पनि दिँदै आएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं समूहका संस्थापक अध्यक्ष लिली थापाले सम्झौताबाट संस्थागत सहकार्य सुरु भएको र बिस्तारै किमो थेरापी र रेडिएसनमा थप  छुट गर्न अस्पताललाई आग्रह गरिने बताउनुभयो । कार्यक्रममा अस्पतालले क्यान्सर रोगमा ‘वेलनेस प्याकेज’ अन्तर्गत समूहका सदस्यलाई उपचारमा छुट दिने अस्पतालका सञ्चालक सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले क्यान्सर भएर निको भएकाहरूलाई देख्दा अरूलाई पनि उत्प्रेरणा हुने भएकाले यो रोग लाग्दैमा मरिँदैन भन्ने जागरण फैलाउन आग्रह गर्नुभयो । बुढानीलकण्ठकाका प्रमुख मीठाराम अधिकारीले विपन्न, असहाय र गरिब परिवार र बिरामीलाई नगरपालिकाका तर्फबाट पनि स्वास्थ्य सेवामा विशेष सहयोगका कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

 कार्यक्रममा क्यान्सर  रोग लागेर निको भएकी एकल महिला प्रतिमा विष्टले सुरुमा रोग लागेका थाहा पाउँदा दुःख लागे पनि हाल आफू काममा निस्कन सक्ने भएको बताउनुभयो । उहाँले श्रीमान् बितेको वा परीक्षामा अनुत्तीर्ण भएका जस्ता दुःख जीवनमा खेप्दाभन्दा पनि । स्तनमा क्यान्सर भयो भन्दा खप्न गाह्रो भएको बताउनुभयो । किमो चढाएपछि कपाल त कुखुराको प्वाँखजस्तो पुर्लक पुर्लक झरेको अनुभव सुनाउँदै उहाँले क्यान्सर उपचार महँगो भएको बाउनुभयो । यसबीचमा उक्त समूहका दुई कर्मचारीको क्यान्सर रोगका कारण निधन भइसकेका छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : ३९ बजे