केटी जिस्काएको निहुँमा झडप हुँदा एक युवकको मृत्यु

वीरगञ्ज । केटी जिस्काएको विषयलाई लिएर भएको झडपमा पर्सागढीमा एक युवकको ज्यान गएको छ । 

१६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर झडप हुँदा पर्सागढी नगरपालिका वडा नम्बर ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । झडपमा संलग्न पर्सागढी नगरपालिका वडा नम्बर ४ वारवाटाडी बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । 

वकिल महमद अन्सारी र अली महमद अंसारीबीच शनिवार राति केटी जिस्क्याएको विषयमा झगडा भएको र घटना स्थलमा अचानक आई पुगेका स्थानीय अबतुल्लाह मिया अन्सारीले जमुदिन महमद अन्सारीलाई चिर्पटले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । 

घटना लगतै जमुदिनलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएको र त्यहाँ उपचार हुन नसकेपछि एलएस न्युरो अस्पताल बीरगंजमा भर्ना गरिएकोमा आज उपचारकै क्रममा उनको मृत्यु भएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनु भयो ।

 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : १० बजे