तीन प्रदेशमा वर्षाको सम्भावना

बबई तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

बाँके । बबई नदी खतराको चिह्नमाथि बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । तीन दिनदेखि लगातारको वर्षाले बबई नदीको जलस्तर मंगलबार बिहान ७ बजेसम्म ६ दशमलव ७ मिटरमाथि बगिरहेको छ ।

गुलरियाबाट करिब ५० किमी दुरीमा रहेको चेपाङ जलस्तर मापन केन्द्रमा ६ दशमलव ७ मिटर पानी बगिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनु भयो । यहाँबाट सदरमुकाम गुलरिया पुग्दा करिब ३ घन्टा लाग्छ ।

बाढी र कटानको जोखिम भएकोले सुरक्षाका सबै निकायलाई उद्धार कार्यमा तैनाथ रहन निर्देशन दिएको प्रजिअ रिसालले जानकारी गराउनु भयो।

सदरमुकाम र आसपासका क्षेत्रमा ५ दशमलव ५ मिटर पुग्न साथ बाढीको उच्च जोखिम हुन्छ । ०७१ सालमा बबई नदीमा आएको बाढीले ९० प्रतिशत भूभाग डुबान हुनाका साथै ३२ जनाको ज्यान गएको थियो ।

बबई तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन बिहानै बाट सचेत गराइएको छ । यसैबीच कर्णाली नदीमा जलस्तर बढ्दै गएको छ । कर्णालीमा बिहान ७ बजेसम्म ७ दशमलव ६८ मिटरमाथि पानी बगिरहेको प्रजिअ रिसालले बताउनु भयो ।

कर्णालीमा १० मिटरमाथि पानी बगे बाढीको जोखिम मानिन्छ । पहाडी क्षेत्रमा पानी परिरहेकोले कर्णालीमा जलस्तर अझै बढ्ने जोखिम रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ५२ बजे