यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

अविरल वर्षाका कारण कैलालीका पाँच सय भन्दा बढी घर डुबानमा

टीकापुर कैलाली । गएराति परेको अविरल वर्षाका कारण कैलालीमा ५ सय भन्दा बढी घर डुबानमा परेका छन् । गएराति चुरेमा परेको अविरल वर्षाका कारण तल्लो तटीय क्षेत्रका कैलालीका जानकी, जोशीपुर, कैलारी गाउँपालिका र भजनी तथा टीकापुर नगरपालिका डुबानमा परेका हुन् । टीकापुर नगरपालिका वडा नम्बर ६ को भर्तापुरमा थरैया नदिमा आएको बाढी पसेको छ ।

जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया गाउँमा काँडा नदीमा आएको बाढी पसेर करिब २०० घर डुबानमा परेको र वडा नम्बर ४ को बाणीमा ४ घर डुबानमा परेको जोशीपुरका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले जानकारी दिनुभएको छ । 

पथरैया नदीमा आएको बाढीका कारण जानकी गाउँपालिकाको बेलपुर र गिरधरपुरका ५० घर जतिमा बाढी पसेको वडा नम्बर ४ का वडाध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिनुभयो । ती घरका बासिन्दालाई सुरक्षित घरमा सारिएको उहाँले जानकारी दिनुभयाे । 

भजनी नगरपालिकामा काँडा नदीले धुसीमा कटान शुरु गरेको  विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेले बताउनु भयो । चुरेतिर वर्षा भइरहेकाले मोहना, काँडा र पथरैया बढिरहेकोले उच्च सतर्कता अपनाइएको उहाँले बताउनु भयो । 

कैलारी गाउँपालिका भुइयाफाटा, रामपुर, बसन्ता, नागारयणपुरमा दुई सय पचास घर डुबानमा परेका वडा नम्बर ७ का वडाध्यक्ष दिपेन्द्र बमले जानकारी दिनुभएको छ । अहिले त्यो स्थानमा प्रहरी प्रशासन, जनप्रतिनिधि, रेडक्रसकर्मीको टोली गइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार कैलालीको टीकापुरमा पछिल्लो २४ घण्टामा १०४ दशमलव ४४ मिलिमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा भने वर्षामापन केन्द्रहरू नभएकाले कति वर्षा भयो भन्ने एकीन छैन । 

कर्णाली नदिमा भने जल सतह खतरा तह भन्दा कम रहेको बाढी मापन केन्द्रले जानकारी गराएको छ । चुरे मुहान भएर बग्ने पथरैया, काँडा, कन्द्रा, मोहना लगायतका नदीहरुले भने खतराको तह पार गरेकाले त्यहाँका नागरिकहरूलाई  सतर्कता अपनाउन भनिएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ०३ बजे