दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ

नयाँदिल्ली – संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नु परिरहेको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (यूनिसेफ) का अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेका छन् ।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भन्नुभयो, “विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट उथलपुथलको चपेटामा परिरहेको अवस्थामा तथ्याङ्कले दक्षिण एसियाका लाखौं बालबालिकाको जीवन र कल्याणलाई गर्मी र उच्च तापक्रमका कारण खतरामा पारेको स्पष्ट देखाउँछ ।”

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको ‘उच्च जोखिममा’ रहेको चेतावनी दिएको छ र एक वर्षमा ८३ वा सोभन्दा बढी दिन अत्यधिक उच्च तापक्रमलाई ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढी हुने अवस्थाको रूपमा परिभाषित गरेको छ ।

बच्चाहरू तापमान परिवर्तनको लागि छिटो अनुकूलन गर्न सक्दैनन्, र उनीहरूको शरीरबाट अतिरिक्त गर्मी हटाउन सक्षम हुँदैनन् ।

“साना केटाकेटीहरूले गर्मी सहन सक्दैनन्,” विजेसेकेराले भन्नुभयो । “हामीले अहिले नै कदम नचालेमा यी बालबालिकाले आगामी वर्षहरूमा अझ बढी बारम्बार र अझ तीव्र गर्मीको सामना गर्नुपर्नेछ ।”

सन् १८०० को दशकको उत्तरार्धदेखि लगभग १.२ डिग्री सेल्सियस को विश्वव्यापी तापक्रम वृद्धि, जीवाश्म ईन्धनको जलनद्वारा सञ्चालित हुने उद्योग तथा कलकारखाना र मोटर तथा मेसिनसम्बन्धी प्रयोगले बारम्बार गर्मीको तरङ्गलाई तातो, लामो र अधिक बनाएको छ, साथै अन्य आँधी र बाढी चरम मौसमी गतिविधिलाई तीव्र बनाएको छ ।

युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दशौं लाख मानिसहरूलाई प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो ।

वैज्ञानिकहरूका अनुसार विश्वले पहिले नै उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभावहरूको अनुकूलन गर्न आवश्यक छ र भविष्यमा अझ खराब हुनबाट जोगिन यस दशकमा कार्बन प्रदूषण उत्सर्जनलाई नाटकीय रूपमा घटाउनुपर्छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ५९ बजे