सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतका कंग्रेस नेता राहुल गान्धीको संसद् सदस्यता पुन:बहाली

नयाँदिल्ली । भारतमा विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीको संसद् सदस्यता पुन:बहाली भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको थरसम्बन्धी मानहानी मुद्दामा तल्लो अदालतले राहुललाई सुनाएको दुई वर्षको जेल सजाय स्थगन गरेको थियो । अदालतको उक्त आदेशपछि आज लोकसभा सचिवालयले १ सय ३७ दिन अर्थात् करिब साढे चार महिनाअघि खोसिएको राहुलको संसद् सदस्यता पुन:बहाली भएको सूचना जारी गरेको हो । 

यससँगै केरलको वायनाडबाट सांसद रहेका राहुलको संसदमा पुनरागमनको बाटो खुलेको हो । संसद् सदस्यता पुन:बहाली भएलगत्तै आज संसद् पुगेका राहुललाई विपक्षी इन्डिया गठबन्धनका सांसदहरुले स्वागत गरेका थिए । कंग्रेस सांसदहरुले एक अर्कालाई लड्डु ख्वाएर खुसीयाली मनाएका थिए । 

लोकसभामा भोलिदेखि प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको अविश्वास प्रस्तावमाथि बहस सुरु हुँदैछ । बहसमा राहुलले एक प्रमुख वक्ताका रुपमा भाग लिने बताइएको छ । 

कंग्रेसले घृणाविरुद्ध प्रेमको जित भन्दै लोकसभा सचिवालयको सूचनालाई ट्विट गरेको छ । त्यस्तै कंग्रेस नेता शशी थरुरले न्याय र लोकतन्त्रको जित भन्दै राहुलको संसद सदस्यता पुन:बहालीको स्वागत गरेका छन् । 

गुजरातको एक अदालतले गत मार्च २३ मा मोदी थर मानहानिको मुद्दामा राहुललाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । सजाय सुनाए पनि अदालतले पुनरावेदनका लागि भन्दै राहुललाई जमानत दिएको थियो । 

अदालतले सजाय सुनाएको भोलिपल्टै जनप्रतिनिधित्व अधिनियमको व्यवस्थालाई प्रयोग गर्दै लोकसभा सचिवालयले उनको सांसद पद खारेज गर्नुका साथै सजाय पुरा गरेको ६ वर्षसम्म चुनाव लड्न नपाउने गरी अयोग्य घोषणा गरेको थियो । 

अदालतले दुई वर्षभन्दा एक दिन मात्रै कमको सजाय सुनाएको भए पनि राहुलको संसद सदस्यता जाने थिएन । यस फैसलालाई लिएर भारतभित्र मात्रै नभई बाहिर पनि मोदी सरकारको आलोचना भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ५५ बजे