सुनको मूल्यमा नयाँ कीर्तिमान

दार्चुला जाँदै गरेको बसबाट शंकास्पद अवस्थाको ७ तोला सुन बरामद

बैतडी । बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परेको छ । काठमाडौंबाट दार्चुलाका लागि छुटेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केही सामग्रीमा सुन आइतबार बिहान फेला परेको हो ।

खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरूले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन-८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधि भनेर पठाएको झोलामा एउटा प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षित राखिएको छ ।

इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमलप्रसाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामद गरेर इलाका प्रहरी कार्यालय पाटनमा लगेको छ ।

८३ ग्राम ५२० मिलिग्राम करिब ७ तोला अढाई आना परिमाणको सुन भेटिएको र बिलसमेत नरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख इन्सपेक्टर चौधरीले जानकारी दिए । यद्यपि दार्चुलाका एक व्यापारीले सुन आफ्नो रहेको र बिलसमेत रहेको फोनमा बताएका छन् ।

शंकास्पद लागेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ४७ बजे