यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मदन भण्डारीकाे योगदानलाई यथार्थ सत्यको आधारमा ग्रहण गर्नुपर्दछ : अध्यक्ष शाक्य

​​​​​​​काठमाडौँ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री गोपाल शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति साझा गर्नुभएको छ । 

मदन भण्डारी फाउण्डेशनद्वारा काठमाडौँमा आयोजना गरेको ‘मदन भण्डारी छलफल कार्यक्रम’को आठौँ शृङ्खलाका प्रमुख वक्ता पूर्व मन्त्री शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति कार्यक्रमका सहभागीहरूबीच साझा गर्नुभयो । 

मदन भण्डारीसँग तत्कालीन नेकपा (माले) गठनताकादेखि नै लामो समय सहकार्य गर्नुभएका अध्यक्ष शाक्यले मदन भण्डारी आफ्नो अध्ययनशीलता, सङ्गठन कुशलता, अद्‍भूत तार्किक क्षमताका साथै अद्वितीय वक्तृत्व कलाका कारण उहाँ सबैको मन जितेरै नेकपा (माले) र नेकपा (एमाले)को महासचिवको रूपमा हामी सबैको नेता बन्न सक्नुभएको बताउनुभयो। 

आफूभन्दा वरिष्ठ नेताहरूप्रतिको सम्मान, सादा जीवन र उच्च विचार, श्रमजीवी वर्गप्रतिको अटुट पक्षधरता र राष्ट्रियताप्रतिको दृढ अडान जस्ता मदन भण्डारीमा अन्तरनिहित  विशिष्ट गुणहरूका कारण उहाँ राष्ट्रिय राजनीतिकै सर्वाधिक प्रभावशाली नेताको रूपमा स्थापित हुनुभएको कुरा समेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “मदन भण्डारी मानिसको भिडलाई एकसाथ आफ्नो विचारमा सहमत बनाउने क्षमता राख्नुहुन्थ्यो । उहाँ कुनै गुटबन्दी गरेर नेतृत्वमा पुग्नुभएको हैन, बरु सबैको मन जितेर, क्षमता देखाएर र श्रेष्ठता साबित गरेर नेतृत्वमा पुग्नुभएको हो । उहाँले जनताको बिचमा पनि आफ्नो श्रेष्ठता साबित गरेरै ‘जननेता’को रूपमा स्थापित हुनुभयो ।” 

प्रमुख वक्ता शाक्यले भन्नुभयो, “हामीलाई  मदन भण्डारीले जनताको बहुदलीय जनवादको जुन विचार दिनुभएको छ, त्यो उहाँ एक्लैको विचार होइन, बरु यो मुक्ति मोर्चा, कोअर्डिनेशन केन्द्र, नेकपा(माले)कालदेखि नेकपा (एमाले) कालसम्मको सामूहिक विचारहरूको संस्लेषित रूप हो ।” 

​​​​​​​

 “जनताको बहुदलीय जनवाद पुष्पलालको नयाँ जनवाद, तुल्सी लालको राष्ट्रिय प्रजातन्त्र र मनमोहनको जनवादी कार्यक्रम सबैलाई जोडेर विकसित भएको कार्यक्रम हो । यसका पछाडि नेपाल कम्युनिष्ट पार्टीको इतिहास र एउटा लामो विचार शृङ्खला जोडिएको छ । यसलाई केपी ओलीले थप विकसित गर्नुभएको छ । त्यस कारण हामीले मदन भण्डारीका योगदानलाई यथार्थ सत्यको आधारमा ग्रहण गर्नु पर्दछ । बढाइचढाइ गर्नु पनि हुँदैन, घटाउनु पनि हुँदैन ।”,  उहाँले भन्नुभयो भन्नुभयो ।

अध्यक्ष शाक्यले जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हालसम्म हासिल गरिएका उपलब्धि र कमीकमजोरीहरूको सिंहालोकन गर्दै यसलाई समाजवादी क्रान्तिको लागि मार्गदर्शक सिद्धान्तको रूपमा थप विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको व्यक्तित्व तथा उहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रवर्द्धन, विकास तथा कार्यान्वयनका विषयमा उहाँसँग निकटमा रही सहकार्य गर्नुभएका विभिन्न व्यक्तित्वहरूसँग छलफल कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  १० : २६ बजे