सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटियो

गल्याङ । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । 

जिल्लाका सबै स्थानीय तहमा खानेपानीको मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अत्यधिक मात्रामा भेटिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माका अनुसार जिल्लाका ११ स्थानीय तहबाट खानेपानीको ९४ नमुना सङ्कलन गरी परीक्षण गरिएको थियो । 

परीक्षण गरिएकामध्ये ४१ वटामा ‘कोलीफर्म’ भेटिएको हो । कार्यालयले पुतली बजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ–आठ, बिरुवा र गल्याङ्मा छ–छ, अर्जुनचौपारीमा पाँच, फेदीखोला र हरिनासमा चार–चार खानेपानीको नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।

“मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा हुने कोलीफर्मको कीटाणु अत्यधिक मात्रा पाइएको छ”, प्रमुख शर्माले भन्नुभयो, “सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट समेत पानीका नमुना परीक्षण गरिएका थिए ।”

सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव छ प्रतिशत र सबैभन्दा कम पुतली बजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलव ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताउनुभयो । 

यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका कीटाणु भेटिएका थिए ।

प्रमुख शर्माले गत वर्षको तुलनामा यस वर्ष पानीको शुद्धतामा केही प्रतिशत वृद्धि भएको बताउनुभयो । उहाँले पानीको शुद्धता बढे पनि अत्यधिक कोलीर्फम भेटिनु सुखद नतिजा नभएको उल्लेख गर्नुभयो । 

गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ नमुना परीक्षण गरिएकामा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्छ । रासस

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ७ : १३ बजे