तीन प्रदेशमा वर्षाको सम्भावना

ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो

ललितपुर गोदावरी । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । 

झिँगा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिँदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा.निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन् । उहाँका अनुसार सङ्क्रमण बढ्दो क्रममा रहेको छ ।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उहाँले जिल्लाभरमा आठ हजार तीन सय गाई भैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताउनुभयो । 

गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाई भैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ ।

“उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पुगेको छ”, डा निशाले भन्नुभयो, “गाई भैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ ।” 

उपत्यकाभरका १७ हजार नौ सय ८८ गाई भैँसीलाई खोप लगाइसकेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ८ : १७ बजे