तीन प्रदेशमा वर्षाको सम्भावना

सपरिवार अमेरिका पलायन भए कीर्तिमानी आरोही कामीरिता

२८ पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम गरेका आरोही कामीरिता शेर्पा अमेरिका पलायन भएका छन्। सन् २०२२ को अन्तिमतिर अमेरिकी सरकारले उनको परिवारका चारै जना सदस्यलाई ‘ग्रीन कार्ड’ दिएको थियो। 

छोरा लाक्पा तेन्जिङ र छोरी पासाङ डोल्माले स्नातक तहको पढाइ पूरा गरे लगत्तै कामीरिता श्रीमती लाक्पा जाङ्मु सहित एक साताअघि अमेरिका गएका हुन्। उनले अर्को वर्षको वसन्तकालीन आरोहणको समयमा आरोहणलाई निरन्तरता दिने वा नदिनेबारे पनि कम्पनीलाई केही भनेका छैनन्।

“अहिलेसम्म त मैले थामेर राखेको थिएँ। नेपाल सरकारले किन हो राख्न सक्दैन,” कामीरिता कार्यरत सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पा भन्छन्, “मैले छोराछोरीको भविष्यका लागि हो भने पनि तिमी चाहिं नेपाल आऊ भनेको छु। तर, अर्को सिजनमा आउने ग्यारेन्टी छैन।”​​​​​​​

मिङ्मा कीर्तिमानी शेर्पाहरूलाई स्वदेशमै टिकाउन नेपाल सरकारले केही नगरेको गुनासो गर्छन्। “सरकारले अहिले फेरि शेर्पाहरूलाई भ्याट, कर पनि लाग्छ भनिरहेको छ। सरकारले कम्तीमा अपार्टमेन्ट वा केही व्यवस्था गरिदिए विदेश जाने कसको मन हुन्छ र?” मिङ्मा भन्छन्।

करीब तीन दशक हिमालमा पर्वतारोहण पथप्रदर्शक भएर काम गरेका कामीरिता डेरामा बस्दै आएका थिए। उनलाई भारत सहित विभिन्न देशले आवासीय सुविधा प्रस्ताव गरे पनि उनी अमेरिका जान खोजेका थिए। कामीरिताले निवेदन दिए अनुसार नै अमेरिकाले उनलाई ‘आउटस्ट्यान्डिङ भिसा’ दिएको हो।

कामीरिता अहिले आफन्त बसोबास गर्दै आएको क्यालिर्फोनियामा बसेको उनी निकटस्थ स्रोतले बताएको छ। “क्यालिफोर्नियामा उहाँको आफन्त हुनुहुन्छ। अहिले त्यहीं बसाइँ शुरू गरिसक्नुभएको छ,” ती स्रोत भन्छन्।

कामीरिताले शेर्पा आरोहीले पर्वतारोहण प्रवर्द्धनका लागि धेरै योगदान दिएको भए पनि नेपाल सरकारले आशा अनुरूप सहयोग नगरेको गुनासो गर्दै आएका थिए। विदेशीलाई आरोहण गराउने काम निकै जोखिमपूर्ण भएको र उमेर ढल्किएपछि सामाजिक सुरक्षा तथा रोजगारीको सुनिश्चितता नहुने भएकाले धेरै शेर्पा विदेश पलायन भइरहेको उनी भन्ने गर्थे।

यसअघि अर्का चर्चित आरोही आप्पा शेर्पा पनि अमेरिका पलायन भएका थिए। १० पटक सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान बनाएकी महिला आरोही लाक्पा शेर्पा पनि अमेरिकामै बसोबास गर्दै आएकी छिन्।

आरोहणको वेला नेपाल आउने भए पनि अर्का चर्चित आरोही निर्मल पुर्जाको बसोबास बेलायतमा हुने गरेको छ। उनले नेपाली नागरिकता त्यागिसकेका छन्। न्यूजिल्यान्डका आरोही एडमन्ड हिलरीसँग पहिलो पटक सगरमाथा आरोहण गरेका तेन्जिङ नोर्गे शेर्पा पनि आरोहणपछि भारत गएर बसोबास गरेका थिए।

५३ वर्षीय कामीरिता २८औं पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र आरोही हुन्। सोलुखुम्बुका ४६ वर्षीय पासाङ दावाले २७औं पटक आरोहण गरेर कामीरिताको कीर्तिमानलाई पछ्याइरहेका छन्। दुवैले यस वर्षको वसन्तकालीन आरोहणको समयमा दुई-दुई पटक आरोहण गरेका थिए।

हिमाल बाहेक अरू सोचेनन्

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेका कामीरिताले विद्यालय टाढा भएका कारण कक्षा ४ सम्म मात्रै पढ्न पाए। उनका बुबा मिङ्मा छिरिङ शेर्पा थामे उपत्यकाकै पहिलो सरदार थिए। पढाइ अधुरो भएपछि दुई दाइमध्ये एक लाक्पारिता शेर्पाको सहयोगमा कामीरिताले १२ वर्षको उमेरदेखि नै भरिया बनेर ट्रेकिङमा लागेका थिए। लाक्पारिता पनि अमेरिकामै बस्दै आएका छन्।

१८ वर्षको उमेरमा कामीरिताले ६ हजार मिटरभन्दा अग्ला ‘मेरा पीक’ र ‘आइल्यान्ड पीक’ आरोहण गरेका थिए। सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामीरिता हिम पहिरो, भूकम्प र हिम आँधी जस्ता हिमाली विपद्का कारण आरोहण स्थगन भएका वर्ष बाहेक हरेक आरोहण याममा सगरमाथा चढ्न पुगेका थिए।

सन् १९९५ मा कामीरिता सगरमाथाको शिखरमा पुग्न सकेनन्। उनले लिएर गएका विदेशी आरोहीलाई पनि ‘साउथ समिट’ मा पुगेपछि लेक लाग्यो र आरोहण रद्द गरेर फर्कनुपरेको थियो।

१९९६ मा पनि उनलाई सगरमाथा आरोहणमा भाग्यले साथ दिएन। आरोहण दलमा संलग्न एक जनाको मृत्यु भएपछि उक्त आरोहण पनि रद्द भयो। त्यसयता भने उनको सगरमाथा आरोहण निरन्तर थियो। पछिल्ला केही वर्षमा त एकै सिजनमा दुई पटक आरोहण गरेका थिए।

कामीरितालाई अहिलेको युवापुस्तालाई जस्तो रोजेको काम गर्ने सुविधा थिएन। त्यसैले हिमालमा काम गर्ने बाहेक अरू सोचेनन्। निरन्तर काममा लागिरहँदा उनले सन् २०१७ मा आप्पा शेर्पा र फुर्वा टासीको सरह २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाए। उनका दुवै प्रतिस्पर्धीले आरोहणबाट अवकाश लिइसकेकाले सन् २०१८ मा २२औं पटक सगरमाथाको आरोहण गरेर उनले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान बनाएका थिए।

यस वर्ष त कामीरिताले २८औं पटक आरोहण गर्ने कीर्तिमान बनाए। 

सगरमाथा क्षेत्रमा भएका सबैजसो दुर्घटना र परिवर्तनलाई नजिकबाट देखेका कामीरिता अनुभवी र पर्वतारोहण पथप्रदर्शक पेशाप्रति प्रतिबद्ध आरोही मानिन्छन्। 

अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत लगायत देशमा आरोहीले सहजै प्रवेश पाउने भएकाले अहिले धेरै कीर्तिमानी शेर्पाले देश छाडिसकेका छन्। 

मिङ्मा शेर्पा संसारले चिनेका आरोही एकपछि अर्कोले देश छोड्नु दुःखद भएको बताउँछन्। “ऊ यहाँ रहुन्जेल हामीले इज्जत र सम्मान नै गरेको हो। तर अब यहाँ राम्रा मान्छे नबस्ने भए,” उनी गुनासो गर्छन्।

himalkhabar bata 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : ०० बजे