साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोकथाम र नियन्त्रणको अभियान सञ्चालन गर्ने 

विराटनगर ।  विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरेर आगामी शुक्रवारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । 

कार्यवाहक मेयर शिल्पा निराला कार्कीले डेंगुको सङ्क्रमण हुन नदिन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी भएको बताउनुभयो । 

शुक्रवार सबै वडामा सामाजिक सङ्घसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल सङ्गठन, राजनैतिक दललगायतको सहभागितामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 

अभियानबाट जनचेतनासमेत वृद्धि भई महानगरवासी आफैँ डेंगु रोगको नियन्त्रण र रोकथाममा लाग्ने बताउनुभयो । घरभित्रैबाट नियन्त्रणको अभियान सञ्चालन गर्न सकिए डेंगुको सङ्क्रमण फैलिनबाट बच्न सकिने उहाँको भनाइ थियो । 

“डेंगु फैलिन नदिन घरभित्रैबाट अभियान सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “घरभित्रको कुलर, फ्रिज, गमला, बाल्टिनमा पानी जम्न दिनहुँदैन । महानगर हरेक घर पुग्न गाह्रो हुन्छ । यसमा महानगरवासी नै सचेत हुनुपर्छ र घरभित्र र वरिपरि पानी जम्न दिनहुँदैन ।” 

उहाँले औषधि छर्किनु डेंगु नियन्त्रणको विकल्प नभएको बताउँदै कार्कीले खोज तथा नष्ट नै डेंगु नियन्त्रणको उत्तम विकल्प भएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले औषधि छर्किँदा मानवीय स्वास्थ्यमा समेत असर पर्ने बताउनुभयो । उहाँले घर वरिपरि पानी जम्न नदिने हो भने डेंगुबाट बच्न सकिने उल्लेख गर्नुभयो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले १० हजार सङ्क्रमित हुँदा ९ हजारमा कुनै लक्ष्मण नदेखिने जानकारी दिनुभयो । बाँकी १ हजारमा ५ सयमा सामान्य भाइरल ज्वरो आउने र ५ सयमा डेंगु ज्वरो आउने उहाँको भनाइ थियो । ५ सयमध्ये पनि १ सयलाई मात्रै डेंगु रोगको जटिल समस्या देखिने महाशाखा प्रमुख अलीले बताउनुभयो । 

अलीका अनुसार डेंगुका जटिल समस्या भएका बिरामीमध्ये २ प्रतिशत मात्रै मृत्युदर रहेको छ । महानगरभित्र हाल १२ जना बिरामी छन् । 

कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, रानी स्वास्थ्य केन्द्र र वैजनाथपुर स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क चेकजाँचको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ५२ बजे