यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

माओवादी केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ । 

आज बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । 

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।

माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उहाँले बताउनुभयो । 

बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा बस्दै छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : १७ बजे