साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साउन १५ र हाम्रो खिर खाने संस्कृति 

हाम्रो देशमा धेरै किसिमका रीतिरिवाज भएको देश हो । यहाँ सबै जातजाति, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरू मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दही, मासु, खिचडी, सेल, घ्यु चाकु, दही चामल, दही चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यी सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । 

त्यसैगरि प्रत्येक वर्ष साउन १५ गते खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरूले हाम्रो देशमा यसरी नै संस्कृतिलाई जोगाइराखेका छन् । यो हाम्रो लागि ठुलो उपलब्धि हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा धेरै ठुलो टेवा पुग्दछ । हाम्रो देशको संस्कृति भनेको विश्वको नमुना हो । यस्तो संस्कृति कतै पनि छैन । तर अब भने यसको जर्गेनाको पाटो ठुलो कठिनाइ भएको छ । यसमा आम जनताको चासो रहन अत्यन्तै आवश्यक छ ।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रूपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रूपमा लिइने गरिएको पाइन्छ । आयुर्वेद विज्ञानमा समेत खिरको महत्त्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाइन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षा याममा विभिन्न सङ्क्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र सङ्क्रमण नहोस्, थकान नलागोस्, फुर्ती बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण पहिला–पहिला शरीरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यी यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दूध र दूधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।

पहिला–पहिला गाउँघरमा मिठो मसिनो कमै खाइने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरीरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यी सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरूले धेरै सोचबुझ गरेर चाडपर्वको महत्त्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने सक्ने गरी कम्तीमा वर्षको एक दिन भए पनि खानुपर्ने गरी चाडपर्वको व्यवस्था भएको देखिन्छ । वैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ । यस अर्थमा पनि हाम्रा पुर्खाहरू अत्यन्तै बुद्धिमान मान्न सकिन्छ ।

आजभोलि सबै किसिमका खानेकुराहरू सबै समयमा पाइने भएता पनि त्यसको सही उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ । त्यस कारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएको देखिन्छ ।

आजकाल चाडपर्व फेसनको रूपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाइहरू मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दूधको खपत पनि अरू दिनको तुलनामा लगभग ४ गुणा बढी हुने गर्दछ । दैनिक उत्पादनको दूधले नपुग्ने भएकोले डेरी उद्योगहरूले दुई चार दिन अगाडिदेखि नै दूध भण्डारण गरी राख्ने र नपुगेमा धुलो दूध मिसाएर बजारमा लाने गर्दछन् । यसरी हामी आम नेपाली देशैभरि साउन १५ मा सबै जना खिर खाई साउन १५ भव्य रूपमा मनाउँदछौँ । हामी सबै मिली सबै किसिमका चाडपर्वको संरक्षण गरी हाम्रा भावी पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्त्व बुझाउनुपर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सही तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन समेत ठुलो मद्दत पुग्नेछ । हामीले अरूको देशको धर्म संस्कृतिको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतिलाई भुल्न हुँदैन । देशका सबै किसिमका चाड पर्व मनाउ, हाम्रो संस्कृति बचाउ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २८ बजे