तीन प्रदेशमा वर्षाको सम्भावना

प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने

बलेवा । होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव  परीक्षणको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका  इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मङ्गलबार साँझ उनको शवपरीक्षणको लागि धौलागिरि अस्पताल बागलुङ ल्याएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

इञ्चार्ज पौडेल मृत फेला परेकोे होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आजै उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । “इञ्चार्ज पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका हौंँ” उहाँले भन्नुभयो “पौडेलले लगाएको सुनको सिक्र्री होटलको भन्छा कोठामा फेला परेको छ ।” घटना  शङ्कास्पद देखिएको जनाउँदै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको थियो । 

आशा होटल एण्ड खाजा घरमा प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “अनुसन्धान भइरहेकाले थप शङ्का गरिएका विषयमा अहिले नै केही भन्न मिल्दैन ।”
 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : १८ बजे