तीन प्रदेशमा वर्षाको सम्भावना

नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानव अधिकार पुरस्कार

सप्तरी ।  मानव अधिकार र सामाजिक जागरणको अभियानमा क्रियाशील नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको बैठकले २०८० का लागि प्रजातान्त्रिक, सङ्घीय लोकतान्त्रिक, मधेस आन्दोलनमा सक्रिय रही हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध र निरन्तर क्रियाशील सप्तरीको राजविराज नगरपालिका–७ का ७२ वर्षीय भन्सालीलाई सम्मानित गर्ने निर्णय गरेको जनाएको छ ।

राजविराजको उद्योग, व्यापारको विकासमा समर्पित रही अल्पसङ्ख्यक मारवाडी समुदायको अभिभावकत्व समेत गर्दै आउनुभएका भन्सालीले नागरिकको चेतना, मानव अधिकारको संरक्षण, लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुका साथै गरिब, दिनदुखीलाई सहयोग गर्दै आउनुभएको छ ।  

मानव अधिकारका अथक योद्धा प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासङ्घको भवनमा सम्मानको कार्यक्रम गरिने कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मान पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

नुवाकोटको घोप्टे भीरमा २०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा काफ्लेको निधन भएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित वैद्यनाथ झाले स्थापना गर्नुभएको पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागरिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषका सदस्य सचिव मनोहर पोखरेलले बताउनुभयो ।

यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियन्ता सुरुङ्गा नगरपालिका–४ मधुपट्टी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गको रूपमा स्थापित छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक सम्मानित हुनुभएको थियो ।

यसैगरी २०७५ सालमा गरिब भूमिहीन, सुकुम्वासी र दलित उत्पीडनविरुद्ध कटिबद्ध भई सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा तथा २०७६ सालमा आधारभूत तहका जनता र पीडितहरूको न्यायका लागि मानव अधिकार रक्षकहरूको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधिकारकर्मी, पत्रकार एवम् सामाजिक कार्यकर्ताका रूपमा सक्रिय राजविराज नगरपालिका–६ का मनोहर पोखरेल सम्मानित हुनुभएको थियो ।

राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा अविचलित रही योगदान पुर्‍याउनुहुने खडक नगरपालिका–८ की रुबी कर्णलाई २०७७ सालमा तथा दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय राजविराज नगरपालिका–७ की अनिता देवकोटालाई २०७८ सालमा सम्मानित गरिएको थियो ।

यसैगरी बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नु भई शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुर्‍याउने राजविराज नगरपालिका–५ का ७३ वर्षीय हितनारायण लाल दास २०७९ मा सम्मानित हुनुभएको थियो । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ०७ बजे