कता हराए चिनियाँ विदेशमन्त्री ?

बेइजिङ (एजेन्सी) : चिनियाँ विदेशमन्त्री किन ग्याङ लामो समयदेखि गुमनाम छन्। सार्वजनिक समारोह कतै देखिँदैनन्। विदेशमन्त्री ग्याङ अचानक कता हराए त भन्नेमा हाल विश्वभर विभिन्न अड्कलबाजी हुन थालेका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङका विश्वासपात्र ग्याङ करिब एक महिनायता सम्पर्कविहीन छन्। उनी पछिल्लोपटक गत जुन २५ तारिखमा देखिएका थिए। त्यतिबेला रूस, श्रीलंका र भेतनामका अधिकारीहरूसँग उनको भेटवार्ता चलेको थियो। 

५७ वर्षीय यी चिनियाँ राजनीतिज्ञ पछिल्लोपटक नयाँ वर्षको बिदाको बेलामा करिब ८ दिन सार्वजनिक समारोहमा अनुपस्थित रहेका थिए। उनलाई इन्डोनेसियामा हुने आसियान शिखर सम्मेलनमा बेइजिङको प्रतिनिधि मण्डलको प्रमुखबाट हटाइएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले त्यतिबेला ग्याङ स्वास्थ्य समस्याका कारणले त्यहाँ उपस्थित हुन नसक्ने जनाएका थिए। तर, यस विषयमा विस्तृत विवरण भने उनले खुलाउन चाहेनन्।

विदेशमन्त्री ग्याङ र युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलबीचको वार्ता पनि पछाडि धकेलिएको थियो। यस विषयमा जवाफ दिँदै चीनले युरोपेली संघलाई नयाँ मिति तोक्न अब सम्भव नभएको बताएको थियो। बेइजिङले यसबारेमा पनि थप स्पष्टीकरण भने दिएको छैन। एक स्रोतले रोयटर्सलाई दिएको जानकारीअनुसार बोरेलको बेइजिङमा निर्धारित आगमनको दुई दिनअघि मात्र कार्यक्रम स्थगित भएको जानकारी उनलाई गराइएको थियो। 

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेसँग चिनियाँ राष्ट्रपतिको भेटका क्रममा पनि ग्याङ पुन एकपटक अनुपस्थित थिए। जुलाईको सुरुमा सम्पन्न ‘ट्रेजरी सेक्रेटरी’ जेनेट येलेन र जलवायु दूत जोन केरीको भ्रमणका क्रममा पनि उनी चिनियाँ अधिकारीहरूसँग कार्यक्रममा उपस्थित थिएनन्। 

यसरी विभिन्न भेटवार्ता र कार्यक्रममा देखा पर्न छाडेका ग्याङ बेपत्ता भएको करिब एक महिना हुन लागिसक्दा पनि चीनले यसबारे गोप्य नै राखेको छ। उनको अनुपस्थितिका बारेमा चिनियाँ सामाजिक सञ्जाल ‘वेइबोमा’ पनि व्यापक खोजी र चर्चा हुन थालेको समाचार एजेन्सी गार्जियनले जनाएको छ। खोज इन्जिन ‘बाइडु’मा उनको विषयमा खोजी गर्नेको संख्या गत साता २८ गुणाले बढेको छ। ग्याङ कहाँ छन् भन्ने विषयमा प्रतिदिन ३ लाख ८० हजारले खोजी गर्ने गरेका रोयटर्सले जनाएको छ। 

ग्याङको अनुपस्थितिका विषयमा कूटनीतिक समुदायमा पनि व्यापक छलफल सुरु भएको छ। केहीले यस घटनालाई चीनको पारदर्शिताको अभावको संज्ञा दिएका छन्। ‘विश्वमा चीनको हैसियत र प्रभावलाई ध्यानमा राख्दै, यहाँका विदेशमन्त्री २० दिनभन्दा लामो समयदेखि सार्वजनिक रूपमा नदेखिनु साँच्चै अनौठो कुरा हो’, कम्युनिस्ट पार्टीले सञ्चालन गरेको एक पत्रिकाका पूर्वसम्पादक डेङ युवेनले सीएनएनलाई बताए। युवेन हाल अमेरिकामा बस्छन्। 

ग्याङको चिनियाँ पत्रकार फु सियाओटियनसँगको सम्बन्धको हल्ला चलेकाले उनी बेपत्ता हुनुमा यो पनि एक कारण हुन सक्ने अनुमान न्युयोर्क टाइम्सले लगाएको छ। 

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ताहरूलाई विवाहत्तर सम्बन्धमा प्रतिबन्ध लगाएको छ। यसको अनुशासन विभागले वरिष्ठ अधिकारीहरूलाई भ्रष्टाचारको आरोप लगाउँदा प्रायः यस्तै सम्बन्धका विषयहरू निकाल्ने गरेको छ। चिनियाँ पत्रकारसँग ग्याङको सम्बन्धका विषयमा प्रष्ट्याउँदै विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै जानकारी नभएको बताए। 

तर, चीन सरकारको उच्च स्रोतले उनको अमेरिकासँग निरन्तर निकटताका कारण उनलाई नजरबन्दमा राखिएको अपुष्ट जानकारी दिएको छ। 
ग्याङलाई चिनियाँ राजनीतिमा एक प्रतिभाशाली नेताका रूपमा लिइन्छ। करिब दुई वर्षभन्दा छोटो समयका लागि अमेरिकी राजदूतका रूपमा सेवा पुर्या‍एपछि उनी गत डिसेम्बरमा विदेश मन्त्रीमा नियुक्त भएका थिए। उनले मन्त्रीको पद सम्हाले यता चीन–अमेरिका सम्बन्धलाई सुधार्ने प्रयास गर्दै आएका थिए। 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ४८ बजे