तीन प्रदेशमा वर्षाको सम्भावना

हिन्दू राष्ट्रका लागि धरानमा राप्रपाको पदयात्रा

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।

हिन्दू राष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङदेनले साउन महिनादेखि सुरु हुने गरी पार्टीले नवीन राप्रपा कार्ययोजना लागू गरेको बताए ।

उनले उक्त कार्ययोजना कार्यान्वयन गर्न देशका सबै स्थानीय तहमा ९०० जना नेता परिचालन भएको बताए ।

‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ । आजैबाट कार्य प्रारम्भ गरेको छु’, उनले भने ।

उनले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएकोसमेत बताए ।

लिङदेनले २०६२/६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबरजस्ती धर्मनिरपेक्षता लाद्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।

‘धर्मनिरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ । नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सद्भावका लागि हिन्दू राष्ट्र अपरिहार्य छ । धर्मनिरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दू राष्ट्रको वकालत गरिरहेको हो’, अध्यक्ष लिङदेनले भने ।

उनले धर्मनिरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताए ।

लिङदेन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढासुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : २९ बजे