तीन प्रदेशमा वर्षाको सम्भावना

सामाखुसीबाट बाढीले बगाएका बालक अझै भेटिएनन्

काठमाडौँ । आइतबार सामाखुसीमा बाढीले बगाएका बालक अझै फेला परेका छैनन्। आइतबार अपराह्न साढे ४ बजे सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।

विद्यालयबाट घर आएर खेल्न निस्किएका उनी काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका हुन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीको अनुसार उनी सोमबार बिहान ११ बजेसम्म फेला परेका छैनन्। उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको छ ।

उनका अनुसार सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ।

अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका एसएसपी मैनालीले जनाए । विपद् उद्धार महाशाखा सामाखुसीबाट पनि २५ जनाको टोली खटाईएको छ।

बेपत्ता बालक मगरको बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ। यस्तै, डेडिकेटेड टिम ४५ जना खटिएका र बागमतीआसपास कालिमाटी र कीर्तिपुर एरियासम्म खोजिकार्य जारी रहेको मैनालीले बताए ।

 

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ५२ बजे