इनरुवा । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शय्या सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गु शय्या सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
सय शय्या क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेङ्गुु अस्पतालको रूपमा परिवर्तन गरेको उहाँले बताउनुभयो । पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० शय्याको ‘अब्जर्भेसन वार्ड’मा ८५ प्रतिशत शय्या डेङ्गुका बिरामीले भरिएपछि छुट्टै डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।
केही दिनयता प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक ६० देखि ७५ जना डेङ्गु सङ्क्रमित आउने गरेका छन् ।
डेङ्गुको जोखिम बढेपछि उपचारबाट वञ्चित नहोउन् भनेर प्रतिष्ठानले जनशक्तिको अभावका बीच पनि डेङ्गु अस्पताल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ९ : ४८ बजे
प्रतिक्रिया