जननेता मदन भण्डारी जनताको बहुदलीय जनवादका प्रणेता हुनुहुन्छ । उहाँले विश्व कम्युनिष्ट आन्दोलनको व्यापक अध्ययन गर्नुभयो । त्यसैगरी नेपाली कम्युनिष्ट आन्दोलनका विषयमा पनि गहिरो अध्ययन गर्नुभएको थाहा हुन्छ । गहिरो अध्ययनबिना नयाँ कुरा निकाल्न सकिन्न । सय फुट गहिरो खाल्टो खनेर मात्र मीठो पानी पाइन्छ । धर्तीमुनि ताम फलामलगायत खानी छन् तर धेरै मिहेनत नगरी तिनलाई पाउन सकिन्न ।
चामल राम्ररी निफनेर मात्र बियाँ र मियाँ सबै हटाउन सकिन्छ । कुनै पनि फल पाक्न र पकाउन समय लाग्छ । अध्ययन गर्ने, पढ्ने विषयमा पनि यो कुरा लागु हुन्छ । राम्ररी नपचेको ज्ञान कोरा हुन्छ । तर राम्ररी पचे पचाएको र पाकेको ज्ञान अत्यन्त उपयोगी हुन्छ ।
त्यस्तै कम्युनिष्ट आन्दोलनमा मदनले जबजमार्फत् अत्यन्त सही विचार र धारणा अघि सार्नुभएको पाइन्छ । उहाँले कम्युनिष्टका विषयमा फैलाएका भ्रमहरू हटाइदिनुभएको छ भने कति कुरामा रहेको अस्पष्टतालाई स्पष्ट पारिदिनुभएको देखिन्छ, जस्तै:
१.जनताको परिभाषा जबजमा जनता शब्द अगाडि नै रहेको छ । सामान्य अर्थमा जनताको परिभाषा गर्दा देशमा बसोबास गर्ने सबैलाई भनिन्छ तर मार्क्सवादले शारीरिक र मानसिक श्रम गर्ने बहुसङ्ख्यक श्रमजीवीलाई जनता भन्छ । यस परिभाषा अनुसार वर्गीय दृष्टिले तमाम गरिखाने जनता हुन्, र तिनै जनताले विभिन्न विकास निर्माण कृषि उद्योग आदि उत्पादन गर्छन् र देशलाई सम्पन्न गराउँछन् ।
नेपाल जस्तो कृषिजन्य आर्थिक औद्योगिक क्षेत्रमा कमजोर रहेको मुलुकमा धनी किसान र राष्ट्रिय उद्योगपति, उद्यमी र व्यवसायी पनि जनताकै तहमा पर्छन् । तिनीहरूले आफैँ पनि लागि परेर कृषि र उद्योग क्षेत्रमा विभिन्न व्यवसाय र उद्योग खोलेर र लगानी गरेर उत्पादन गर्छन् र नेपालीलाई नै रोजगार दिलाउँछन् । उद्योगबाट जे जति आर्जन गर्छन् तिनले आमदानी विदेश लाँदैनन् । नेपालमै उद्योगहरू खोल्छन् र देशलाई आत्म निर्भर बनाउन लागिपर्छन् । यस कुरालाई मदनले जोड दिएको देखिन्छ र यसबाट नेकपा एमाले आम श्रमजीवी जनताको हित गर्ने पार्टी हो भन्ने कुरा जनता शब्दबाट बोध हुन्छ । तर देश घाती, जनघाती जनतालाई हर हालतमा शोषण उत्पीडन गर्ने चाहिँ जनताका परिभाषामा पर्दैनन् । यस्तो चरित्र र सोच भएपछि जोसुकै जनता हुन सक्तैनन् ।
२.जनताको मन जित्ने कुरा
मदनले राजनीतिलाई सेवाका रूपमा लिनुभएको स्पष्ट हुन्छ । जबजमा उहाँले उक्त विषयमा स्पष्ट उल्लेख गर्नुभएको छ । उहाँले देश विकासमा जनतालाई केन्द्रमा राखेको पाइन्छ । जनताको मन जितेर राजनीति गर्ने कुरामा जोड दिएको देखिन्छ । यसको मतलब जनतालाई सबै किसिमले राजी गराएर राजनीति गर्ने र यसमा श्रेष्ठ भएर राजकीय नेतृत्व प्राप्त गर्ने कुरामा मदनको ध्यान केन्द्रित स्पष्ट हुन्छ । आर्थिक नैतिक इमानदारिता त्याग सेवा र समर्पणबाट जनताको मन जित्नुपर्छ जबजमा भनिएको छ । जबजमा राम्रो काम गरेर मात्र हुँदैन । जनतासित राम्रो व्यवहार पनि गर्नुपर्छ भनिएको छ । त्यसैले मदन भण्डारीले जस्तै भाइवाद, भतिजावाद र नातावाद विरोधी हुनुपर्छ । जनतालाई सेवा सुविधा दिनुभन्दा आफैँ पहिले महँगो सुविधा लिने कुराको विरोध मदनले गर्नुभएको पाइन्छ । जनताको मन जितेर राजनीति गर्नुपर्छ भन्ने कुरा मदनबाट नै मैले पहिले सुनेको हो ।
३.अधिनायकवाद
मदन भण्डारीले नै सबैभन्दा पहिलो कम्युनिष्टहरु अधिनायकवादी वा निरङ्कुश वा अलोकतान्त्रिक होइनन् भन्नुभयो र यस कुरालाई उहाँले जबजमा स्पष्ट पार्नुभएको छ । मदनले संसारमा सबैभन्दा बढी प्रजातन्त्रवादी लोकतन्त्रवादी कम्युनिष्ट हुन् भन्नुभयो । किनभने कम्युनिष्टले ९५ प्रतिशत जनतालाई लोकतान्त्रिक अधिकार दिलाउँछ । तर ५ प्रतिशत बसीखाने वर्गको हित गर्ने पार्टीले आफूलाई लोकतन्त्रवादी भन्ने अनि बहुसङ्ख्यक जनताको लोकतान्त्रिक सबै हक र हित दिलाउने कम्युनिष्ट त्यसमा पनि एमालेले आफूलाई अधिनायकवादी वा निरङ्कुश भन्नुहुन्न भनेर मदनले स्पष्ट पार्नु भएको हो । अझ एमाले पुँजीवादी पार्टी जस्तो खोक्रो प्रजातन्त्र वा लोकतन्त्रको कुरा गर्दैन । यस पार्टीले त भरिलो प्रजातन्त्र वा लोकतन्त्र जनतालाई दिन चाहन्छ । यसको अर्थ जनतालाई लेख्ने बोल्ने सभा सङ्गठन गर्ने मात्र अधिकार दिनु र आर्थिक अधिकार नदिनु खोक्रो लोकतन्त्र हो । एमाले भने जनतालाई राजनैतिक वा लेख्ने बोल्ने आदि अधिकारसहित आर्थिक अधिकार पनि दिन चाहन्छ । त्यसैले हामी अधिनायकवादी वा निरङ्कुश अथवा जनतालाई लेख्न बोल्नै नदिने पार्टी होइन । यो कुरा नबुझ्ने कथित कम्युनिस्ट र विरोधीले फैलाएका भ्रम हुन् ।
४.अधिनायकत्व राज्यको चरित्र हो
मदन भण्डारीले अधिनायक वा अधिनायकत्व राज्यको आम चरित्र हो भन्नुभयो । किन भने देशमा शान्ति सुरक्षा जस्ता विभिन्न विषयमा राज्यले प्रहरी र सेना लगाएर नियन्त्रण गर्छ अधिनायक शासन गर्छ । यसरी जुनसुकै पार्टीको सरकारले पनि राज्य शक्तिको प्रयोग गरी नियन्त्रण वा अधिनायकत्व कायम गर्छ । तर प्रतिक्रियावादी र कम्युनिष्ट र अझ एमाले जस्ता सही कम्युनिष्टले सरकारमा हुँदा पनि प्रतिक्रियावादीले जस्तो पहिले नै प्रहरी र सेनाको बल प्रयोग गर्दैन । दमनबाट भन्दा वार्ताबाट समाधान गर्ने कुरालाई प्राथमिकता दिन्छ यसैले यस पार्टीले अधिनायकत्व होइन नेतृत्व गर्छ भनिएको हो । प्रतिक्रियावादी सत्ताले लोकतान्त्रिक वा सही कम्युनिस्ट पार्टीका सही आवाजलाई वार्ताबाट होइन सुरुमै शक्ति मार्फत नियन्त्रण गर्छ वा दमन पनि गर्छ । यस्तो सरकारले कम्युनिस्ट पार्टी र देशभक्त लोकतान्त्रिक पार्टीका देश र जनताका पक्षमा गर्ने कुनै पनि सही माग राखेर गरेका शान्तिपूर्ण आन्दोलनलाई दमन गर्छ अधिनायकत्व वा निरङ्कुश व्यवहार गर्छ । विदेशी शक्तिको भक्ति गर्ने यस्तो सरकार देशका हितमा गरेको आन्दोलनलाई मन पराउँदैन र यसलाई पनि दमन गर्छ ।
जननेता मदन भण्डारीको रहस्यमय हत्याको निष्पक्ष छानबिन होस् भन्दा सुन्दैन अनि सुन्ने गरी बोल्दा र शान्तिपूर्ण आन्दोलन गर्दा घोर दमन गर्छ र गरेको थियो । तर एमालेले यस्तो रवैया सरकारमा हुँदा पनि गरेन र गर्दैन । नाजायज विषयमा आन्दोलन गरे पनि सकेसम्म शान्तिपूर्ण समाधान गर्न चाहन्छ एमाले । सकेसम्म अधिनायकत्व वा धरपकड, दमन वा निरङ्कुश शासन होइन बरु नेतृत्व गर्ने कुरामा मदनले जोड दिनुभएको छ । राज्य र जनताको अभिभावकीय भूमिकामा रहेको हुँदा एमालेले सरकारमा र सत्तामा हुँदा पनि सकेसम्म अभिभावकीय भूमिका निर्वाह गर्नका लागि अधिनायकत्व नभएर नेतृत्व गर्ने कुरामा जोड दिएको हो ।
५.सङ्घर्ष तलबाट कि माथिबाट ?
कार्ल मार्क्सले श्रमजीवी वर्गको मुक्ति उनीहरू आफैँले जितेर लिनुपर्छ भन्नु भएको रहेछ । यही कुरालाई आधार बनाएर जननेता मदन भण्डारीले हामी मुक्तिदाता होइनौँ मुक्ति प्राप्त कर्ता स्वयं जनता हुन् भन्नु भएको छ । यस्ता विषयमा पारिवारिक बैठकमा छलफल हुँदा आफू पनि स्पष्ट हुन पाइयो । कुरो के रहेछ भने कुनै पनि घर बनाउँदा पहिले जग हालिन्छ र त्यो जग सकेसम्म बलियो होस् भनिन्छ किनभने जग बलियो भयो भने त्यस जगमा जति तलाको घर पनि बनाउन सकियो । अनि बलियो जग भए पनि घर पनि बलियै हुने भयो । एमाले तलतल सङ्गठन बनाएको हुँदा अहिलेसम्म बलियो रहेको छ तर यस कुरामा विभिन्न तहको सङ्गठन र नेता तथा नेतृत्वको जीवनशैली र व्यवहार जनमैत्री हुन सक्यो भने मात्र पार्टीको जग अझ बलियो हुन्छ । आम रुमजीवी जनता आफू र आफ्नो वर्ग र समूहप्रति ज्यादती हटाउन आफैँ सचेत,सजग र सतर्क हुनुपर्छ र तमाम शोषित पीडित जनता जाग्नुपर्छ, सङ्गठित हुनुपर्छ भनिएको हो । लामो समयसम्म मार्क्सकाे भनाइको सही व्याख्या विवेचना नभएकाले हामी आफैँ अलमलिएका हौँ । पार्टीका केही नेता लहड मनोगत आग्रह र आदेशका भरमा क्रान्ति हुँदैन र भयो भने टिकाउ हुँदैन ।
६.जनवादको परिभाषा
जनवादको सोझो र सामान्य अर्थ प्रजातन्त्र, लोकतन्त्र हो । तर यो सामन्ती तथा पुँजीवादीले भनेजस्तो खोक्रो प्रजातन्त्र मात्र होइन । मार्क्सवादी भाषामा जनवाद भनेको जनतालाई दिइने राजनीतिक र आर्थिक जस्ता दुवै अधिकार सहितको हुन्छ र हुनुपर्छ । देश भनेको मूलतः जनता हो । ती जनतालाई लेख्ने बोल्ने सभा सङ्गठन गर्ने वा राजनीतिक अधिकार पनि दिइन्छ भने जनतालाई आर्थिक अधिकार पनि दिइन्छ । यसको मतलब राज्य,सरकार वा सत्ताले गाँस, बास र कपास स्वास्थ्य शिक्षा र सुरक्षा जस्ता अधिकार जनतालाई दिनुपर्छ भन्नु हो । राज्य वा सरकारले हुनेखाने कै मात्र हित हेर्ने र गर्ने होइन नहुनेको सबै भन्दा पहिले हित गर्नुपर्छ । त्यसैले एमाले नौ महिने होस् वा ओली नेतृत्वको सरकारले ज्येष्ठ नागरिक भत्ता, आफ्नो गाउँ आफै बनाऊँ अन्तर्गत सिदा गाउँमा दिने निर्णय गरेकाले पूर्वाधारका कामहरू देशव्यापी हुन सकेको हो । ८ लाख पक्की आवास गृह बनाएर घरबार विहीनहरूलाई हस्तान्तरण गरेको हो यस्ता अनेक जनहितका कामहरू एमालेले मात्र गरेको हो । नीति अनुसार जनतालाई दुवै अधिकार एमालेले मात्र स्पष्ट रूपमा दिएको देखिन्छ । त्यसैले जनवाद र लोकतन्त्रका बीचको फरक देख्नु र बुझ्नु जरुरी हुन्छ ।
६. उपसंहार
यसरी मदन भण्डारीका मौलिक विचारहरू धेरै पाइन्छन् । जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व लिन चाहन्छौँ भनिएको छ । जबजमा नै यस्ता विचारहरू पाइन्छन् । मदन भण्डारीका देश जनताका पक्षका तमाम विषयहरू अनुसरण गर्नु पहिलो र अन्तिम जिम्मेवारी तथा दायित्व हो । उहाँका विचारलाई सबैले अनुसरण गरे देश र जनताको भलो हुने निश्चित देखिन्छ । अहिले नै निराश हुनुपर्ने कुरा छैन र आशा त जगाउने कुरा हो । भरोसा आफैँले आफूलाई दिने वा लिने कुरा हो । मैले पनि पढे अनुसार चिनियाँ महान् नेता तेङ सिआयो पेङ एक समय पार्टीका विवादका कारण मर्नु न बाँच्नु अवस्थामा पुग्नुभयो । माओलाई तेङ विरोधीले भए नभएका पोल लगाएर त्यस्तो अवस्थामा पुर्याए । यसले गर्दा तेङको परिवारले असहनीय कष्ट व्यहोर्नुपर्यो । उहाँको जेठो छोराले असमयमै मर्नु पर्यो । तर पनि उहाँ पार्टीमा अडिग रहनु भयो र चीनलाई आधुनिक र समृद्ध बनाउनुभयो । माओले आफ्ना कारणले तेङप्रति घोर अन्याय हुन गएकामा गल्ती स्वीकार गर्नु भयो । त्यसैले नेताका सकार नकार दुवै कुराबाट सिकेर अठोट र अडानका साथ लागिरहनुपर्छ । मदनका मौलिक विचारलाई मनन गरेर लक्ष प्राप्तिमा लागिरहनुपर्छ ।
२०८० साउन ७ गते इटहरी पार्टी कार्यालयमा फाउन्डेसन सुनसरीको पहिलो सम्मेलनका अवसरमा वाचन गरिएको विषय पत्र
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ८ : ५८ बजे
प्रतिक्रिया