राजनैतिक तथा संवैधानिक व्यवस्थामा आएको परिवर्तनपछि देशको अवस्थामा जनअपेक्षाअनुसार परिवर्तन ल्याउन आम नागरिकदेखि नेतृत्वहरूले जिम्मेवारी लिने र जबाफदेही हुने पद्धति बसाल्न नसक्दा यति बेला देशको राजनीतिमा कम्फर्टेबल अवसरवाद र आत्मसमर्पणवाद अनि भ्रमपूर्ण लोकप्रियतावादसँगै वंशवादको पनि मनोबल मात्र बढेको छैन जनता भ्रममा परेर भावनात्मक रूपमा भड्किने परिस्थिति बनेको छ । यो खालको अवस्थाले भोलिका दिनमा देशमा अस्वाभाविक राजनीतिक परिस्थितिको विकास भएर नियन्त्रित अस्थिरता चाहनेको स्वार्थ अझ बलियो हुनसक्छ ।
यति बेला हामीले बुझ्नु र बुझाउनु पर्थ्यो, “राजनीतिमा सस्तो लोकप्रियवादले आफूलाई बलियो र राम्रो देखाउन सधैँ भ्रमको सहारा लिन्छ र जनतालाई भावनात्मक रूपमा भड्काएर आफ्नो राजनीतिक अभिष्ट पूरा हुने दृष्टकोणबाट निर्देशित भइरहेको हुन्छ ।” त्यस्तै कम्फर्टेबल अवसरवाद र आत्मसमर्पणवादले जनताको अभिमतबाट होइन दिल्लीको आशीर्वादबाट आफूलाई बलियो बनाउन खोज्छ । उनीहरूले गरिरहेका गतिविधिहरूले त्यसकै सङ्केत गरेको छ । तर आमजनताले राजनीतिमा देखिएको सङ्केतलाई स्पष्ट रूपमा बुझ्न पाएका छैनन् । किनभने सञ्चार, सञ्जाल, सदन र सडकमा कम्फर्टेबल अवसरवाद र आत्मसमर्पणवाद अनि भ्रमपूर्ण लोकप्रियतावादले प्राथमिकता पाएको छ ।
राजनीतिमा नेता कार्यकर्ता भनेको राजनीतिक सङ्गठनभित्र सक्षम र प्रतिबद्ध भएको व्यक्ति हो । जसले पार्टी र राज्यको लक्ष्यहरू पूरा गर्न राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठानेर वैचारिक धरातलमा टेकेर राजनीति गर्न आफूलाई तयार गरिरहेको हुन्छ । किनभने पार्टी नेता तथा कार्यकर्ता भनेको पार्टीको विचार र कार्यक्रमलाई राज्यको लक्ष्य पूरा गर्ने एउटा प्रमुख माध्यम हो । असल नेता कार्यकर्ताले पार्टी पद्धति र राजनीतिक पदानुक्रमलाई जस्तोसुकै अवस्थामा पनि पालना गर्न तयार हुन्छ । आफ्नो समुदायमा आफ्नो विचार, आचरण र व्यवहारबाट प्रतिष्ठित बनेको हुनुपर्छ ।
“पार्टीको कार्यकर्ता बन्ने व्यक्तिले जुन पार्टीको कार्यकर्ता बन्ने हो, त्यो पार्टीको राजनीतिक दर्शन, नीति, रणनीति र कार्यनीति बुझेको हुनुपर्छ । तर हिजोआज अनलाइन कार्यकर्ता बन्ने बनाउने लहड चलेको छ । यो लहडले पार्टी विकास होइन, विनाशको कारण बन्न सक्छ । तर पनि यही लहडमा पार्टीहरू कार्यकर्ताको सङ्ख्या बढाउन लागेका छन् ।” जबकि पार्टीको कार्यकर्ता बन्न र बनाउन निश्चित मापदण्डहरूको पालना गर्नै पर्ने हुन्छ । न्यूनतम मापदण्डहरू;
विचारप्रतिको ज्ञान, निष्ठा र त्यसको पालनामा क्षमतासहितको प्रतिबद्धता
पार्टीको विचार, विधि विधान र नीतिप्रतिको स्पष्टतासहित संलग्नता
पार्टी कार्यकर्ता बन्न निश्चित आन्तरिक प्रक्रिया र परीक्षणबाट अनुमोदन
व्यक्तिको नैतिक तथा चारित्रिक अवस्था राम्रो भएको प्रमाण
जनताका लागि जनताबाट अनुमोदन भएर आफ्नो श्रेष्ठता कायम हुन्छ भन्ने ज्ञान
पार्टीको वैचारिक कार्यदिशालाई व्यापक बनाउन सक्ने
डिजिटल वर्ल्डमा हामीले सूचना प्रविधिको अधिकतम प्रयोग गरेर आफ्ना क्षमताहरू बढाउने र देशको प्रगतिमा योगदान दिने योग्यता देखाउनुपर्छ । तर ‘ पार्टीको कार्यकर्ता बन्दा वा बनाउँदा व्यक्ति र पार्टीसँग प्रत्यक्ष सम्पर्क, संवाद र सहकार्यमार्फत निजलाई पार्टीको विचार र नीतिले दीक्षित बनाउनुपर्छ । त्यसैले अनलाइन दरखास्तमार्फत बनेका नेता तथा कार्यकर्ताले अप्ठ्यारो परेका बेलामा पार्टीको पक्षमा क्रियाकलाप गर्ने ल्याकत राख्दैन । किनभने त्यहाँ अवसरवादी चेतना हाबी हुन्छ । बरु सूचना प्रविधिको प्रयोग उपयुक्त हुनेछ । अनलाइन कार्यकर्ता बनाउने विधिले विचारको पार्टी होइन, भ्रमित भिडको समूह भने तयार हुनसक्छ ।
नेपालमा क्रियाशील पार्टीहरूमा नेपाली काँग्रेसले नवउदारवादी दक्षिणपन्थी विचारलाई प्राथमिकतामा राखेर काम गर्छ । अनि आफूलाई प्रजातान्त्रिक समाजवादी भनेर पनि थाक्दैन । काँग्रेसको विचार नजिक देखिने अरू साना पार्टीहरू भने जता सत्ता उतै कलकत्ता भन्ने ढङ्गले आफूहरूलाई परिचालन गरिरहेका छन् । परम्परावादी धारको राजनीतिक प्रतिनिधित्व हामीले गर्छौँ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना गतिविधिहरू नियमित गर्दैछ । यी दुई राजनीतिक धार बाहेक वामपन्थी धारको मुख्य नेतृत्व नेकपा एमालेले गर्न खोजिरहेको छ । तर एमालेलाई रोक्न र कमजोर बनाउन माधव, झलनाथ र प्रचण्ड अर्थात् माझण्डहरू समाजवादी मोर्चा बनाएर प्रगतिशील लोकतान्त्रिक जनमतलाई भ्रमित बनाउने प्रयास गर्दै छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि त्यसले कुन राजनीतिक विचारको प्रतिनिधित्व गर्छ अहिलेसम्म खुलेको छैन । अनि जातीय र क्षेत्रीय मुद्दा उठाएर पनि दलहरू बनेका छन्, तर तिन गन्तव्यको कुनै टुङ्गो देखिँदैन । किनभने उनीहरूमा जातीय र क्षेत्रीय मुद्दा बाहेक राष्ट्रिय मुद्दा भेटिदैन् ।
एकातिर कम्फर्टेबल अवसरवादले त अर्कातिर भ्रमपूर्ण लोकप्रियतावादले जनताको मनस्थिति अन्योलपूर्ण बनाउँदा देशको परिस्थिति अस्थिर बन्दै छ । जसले गर्दा परिपूर्ण लोकतन्त्र अर्थात् प्रगतिशील लोकतन्त्रको पक्षधर राजनीतिक शक्तिले आफ्नो प्रभाव विस्तार गर्न कठिनाइको सामना गर्नु परिरहेको छ । यस्तो खालको अवस्थाका बीच देशको राजनीतिलाई जनमुखी र देशमुखी बनाउन त्यति सहज हुँदैन किनभने जनतामा राजनीतिक साक्षरताको स्तर पर्याप्त मात्रामा विकास भएको अवस्था छैन । जसका कारणले जनताले विचारविनाको राजनीति र नैतिकता र चरित्रविनाको नेतृत्वलाई चिनेर आफूलाई भावनात्मक रूपमा बलियो बनाउन कठिनाइ महसुस गरिरहेका छन् ।
हामीले बुझ्नुपर्छ, “लोकतन्त्रमा प्रगतिशील राजनीतिक चिन्तन सधैँ अन्य विचारभन्दा गतिशील हुन्छ । तसर्थ, जनताको बहुदलीय जनवाद नेपालमा अरू राजनीतिक विचारको तुलनामा धेरै प्रगतिशील र लोकतान्त्रिक राजनीतिक विचार हो।” अहिले यो विचारलाई मार्गदर्शक सिद्धान्त बनाएर नेकपा एमालेले राजनीति गरिरहेको छ । यो विचारलाई कमजोर देखाउन र असान्दर्भिक बनाउन कम्फर्टेबल अवसरवाद र भ्रमपूर्ण लोकप्रियतावादले अघोषित सहकार्य गरिरहेको उनीहरूका गतिविधिहरूले स्पष्ट सङ्केत गरेको छ ।
अवसरवादलाई चिन्न सुन्नु पर्दैन, व्यवहार बुझे नै पर्याप्त हुन्छ । भ्रमपूर्ण लोकप्रियतावादलाई चिन्न व्यवहार कुर्नु पर्दैन, बोली नै पर्याप्त हुन्छ । तर कम्फर्टेबल अवसरवादलाई चिन्न बोली र व्यवहार दुवै बुझ्नुपर्छ । तर अहिले कम्फर्टेबल अवसरवाद र भ्रमपूर्ण लोकप्रियतावादले परिपूर्ण लोकतन्त्रको मार्गमा अवरोध पुर्याउने काम गरिरहेको छ ।
अब रह्यो राजतन्त्रसहितको लोकतन्त्र कि लोकतान्त्रिक गणतन्त्र भन्ने सवालमा गणतन्त्रभन्दा राजतन्त्र ठिक भन्ने मान्यता बोकेर कसैले राजनीति गर्छु भन्छ भने सार्वभौम नागरिक बन्दिन भन्नु हो । गणतन्त्रमा जनता सार्वभौम हुन्छन् र राष्ट्रप्रमुखमा जनताको छोरा वा छोरीलाई जनादेशबाट छान्न र फेर्न सकिन्छ । तर राजतन्त्रमा खराब वा असल जे भएता पनि परिवारभित्रबाट राजा बन्छन् । अब गणतन्त्र रोजेर सार्वभौम नागरिक हुने कि राजन्तन्त्र रोजेर रैती बन्ने भन्ने प्रश्न उठाउनुपर्ने भएको छ ।
हामी आमजनताले पनि बलियो राष्ट्रिय व्यक्ति र समृद्ध नेपाल निर्माणका मुख्य व्यवधानहरूलाई चिन्न सक्नुपर्छ । ती व्यवधानहरू हटाउने राजनीतिक विचार र पार्टीलाई बलियो सहयोग र समर्थन गर्नुपर्छ । आज बलियो राष्ट्रिय शक्ति र समृद्ध नेपाल निर्माणका मुख्य व्यवधानहरू यस प्रकार छन् ।
राजनीतिक अस्थिरता
समाजिक, प्रशासनिक र न्यायिक अराजकता
सांस्कृतिक मूल्यमान्यतामा व्यापक विचलन
मुलुकको खराब अर्थ नीति र कमजोर अर्थव्यवस्था
असान्दर्भिक र खराब शिक्षा व्यवस्था
दलाल पुँजीवादले राष्ट्रिय पुँजीपति बलियो बनाउन र उद्यमशीलता बढाउनभन्दा दलाल पुँजीपति र अवैधानिक अर्थतन्त्र बलियो बनाउन खोज्छ । त्यसैले त दलाल पुँजीपतिको सेवामा बजेट बनाउने बेलामा करको दर हेरफेर गरेर गुन लगाएको अनि राष्ट्रिय पुँजीपतिको चरित्र नजिक देखिने उद्यमीहरूको विरोधमा रमाएको हामीले देखेका छौँ ।
यतिखेर हामीले बुझ्नु र बुझाउनुपर्छ, “खराब नीति, विचारहीन राजनीति अनि नैतिक र चरित्रहीन नेतृत्वको पछि लागेर न जनअपेक्षाहरू सम्बोधन हुनसक्छ न त राष्ट्रिय सङ्कल्प तथा आकाङ्क्षा नै पूरा गर्न सकिन्छ भन्ने चेत आमजनतामा विकास गर्नका लागि सञ्चार, सञ्जाल, सदन र सडकबाट राजनीतिक साक्षरता अभियान चलाएर सही नीति र नेतृत्व चिन्ने क्षमता विकास गर्नुपर्छ ।” यसका लागि सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष भूमिका पनि निर्वाह गर्न सक्नुपर्छ । सामाजिक सञ्जालको पनि समुचित प्रयोगमा हामी सधैँ सचेत हुनुपर्छ । सामाजिक सञ्जालले हामीलाई सशक्तीकरण गर्न मद्दतसँगै भ्रमित बनाउने काम पनि गरेको छ । फेरि सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरू सम्प्रेषण गर्ने अवसर पनि मिलेको छ । तर हाम्रा विचारहरू सबै सधैँ ठिक हुँदैनन् भन्ने यथार्थ पनि बुझ्नुपर्छ ।
राजनीतिमा नेतृत्वको विचार, निष्ठा, त्याग र योगदानसँगै चरित्र र नैतिकता पनि प्रधान हुन्छ। तर हिजोआज विचार, निष्ठा, त्याग र योगदानसँगै चरित्र र नैतिकता केही पनि होइन, डेलिभरी मुख्य हो भन्दै आफ्नो कमजोरी लुकाउने, जनतालाई भ्रमित बनाएर भड्काउने राजनीतिको चर्चा चलेको छ। यो खालको भ्रमको खेती गर्ने राजनीति कायम रहेसम्म लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समृद्ध नेपाल बनाउने राष्ट्रिय सङ्कल्प पूरा हुन सक्दैन । यसर्थ लोकतान्त्रिक गणतन्त्र सुदृढ र संवृद्ध नेपाल बनाउन बलियो राष्ट्रिय शक्ति चाहिन्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर जनताले आफ्ना सार्वभौम अधिकारहरू पूरा प्रयोग गर्नुपर्छ ।
आज नेपालको राजनीति एकातिर कम्फर्टेबल अवसरवाद र आत्मसमर्पणवादबाट अस्तव्यस्त बनाउने काम भइरहेको छ भने अर्कातिर भ्रमपूर्ण लोकप्रियतावादले जनमन भ्रमित बनाएर जनतालाई भावनात्मक रूपमा भड्काएर नेपालमा नियन्त्रित अस्थिरता बढाउने मुख्य भूमिका खेलिरहेको छ । त्यसैले त अहिले उनीहरूले जनता अलमल्याउन सेनाको सङ्ख्या यति उति चाहिन्छ भन्दैछन् । जबकि “यति बेला बहस सेनाको सङ्ख्या कति चाहिन्छ, सङ्घीयता चाहिन्छ वा चाहिदैन् भन्ने प्रश्नमा अल्झने होइन । बहसको केन्द्र कस्तो शिक्षा, कस्तो नागरिक, कस्तो राजनीति, कस्तो नेतृत्व, कस्तो अर्थनीति, कस्तो प्रशासन र न्यायालय भन्ने हुनुपर्छ अनि त्यसपछि सेनाको सङ्ख्या आफै तोकिन्छ र सङ्घीयताको विवाद आफै सकिन्छ ।”
त्यसैले हामीले बुझ्नुपर्छ, नेपालको राजनीतिमा सबै खराब पक्षलाई राजनीतिक र सामाजिक रूपमा कमजोर बनाउन आज देशले प्रगतिशील लोकतान्त्रिक विचार, नीति र नेतृत्वसहितको बलियो राष्ट्रिय शक्ति खोजेको छ। त्यो कुन शक्ति हुनसक्छ, त्यसलाई चिन्न सक्नुपर्छ ।
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ८ : ०६ बजे
प्रतिक्रिया