सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आइतबार प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् । 

उनीहरूले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरूसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेका खुल्न आएको छ । पीडितहरूलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरूले रु ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

यसरी रकम ठगी गरी उनीहरूले पीडितको ना४च ८६७० नंको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।  

उनीहरू विरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरूलाई आज पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरूलाई थप कारबाहीका लागि आजै इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ५३ बजे