चार घण्टा बित्यो हुन सकेन शिवखोलामा खसेको ट्रक चालकको अझै उद्धार

बाँके । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट ट्रक खसेको तीन चार  घन्टा बितिसक्दा पनि चालकको उद्धार हुन सकेको छैन।

मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान लमही नगरपालिका–९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।

ट्रकका चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका–६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिएका छन्।

सहचालक लुम्बिनी संस्कृत नगरपालिका(७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य छ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) सुशील थापाका अनुसार चालक सिटमै च्यापिएको अवस्थामा रहेकाले उद्धार गर्न समस्या भएको हो।

अहिले डोजर र फलाम काट्ने मेसिनसहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाले पनि ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।

‘ट्रकले चालकको खुट्टा च्यापेको छ,’ उहाँले भन्नुभयो,हामी ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास गरिरहेका छौं।’

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ०७ बजे