साफ यू–१७ च्याम्पियनसिप आजदेखि

के हो एमालेको सदस्यता अभिलेखन व्यवस्थापन ?

जाँतोलाई भन्दा हातोलाई खसखस भने झैँ एमालेको सदस्यता अभिलेखन सम्बन्धी चर्चा एकाएक चुलिएको छ । आम रूपमा तत्काल तुष्टि पोख्न र तुरुन्तै असन्तुष्टि आर्जन प्रयोग गरिने सामाजिक सञ्जालका पानाहरूमा रागे पाटे लेखनबाट सुरु भएको यो बहस अहिले बिग हाउस मिडियाले समेत महत्त्वका साथ छाप्ने गरेका छन्, बाहिर ल्याउने गरेका छन् । 

के साँच्चिकै एमालेको सदस्य सङ्ख्या ओरालो लागेको हो ? आम रूपमा मानिसले पार्टी सदस्यता परित्याग नगरेकै हुन् त ? कि सदस्यता नवीकरण मात्र नभएको नगराइएको हो ? कि आग्रह पूर्वाग्रहको प्वालबाट छिरेर एमालेलाई फेरि यो मुद्दामा कमजोर पार्न नियोजित ढङ्गले प्रचारबाजी मात्र गरिएको हो ? छोरी कुटेर बुहारी तर्साएजस्तो तर्साउन त खोजिएको होइन ? अनुमान र आशङ्काजन्य प्रश्नहरू बग्रेल्ती छन् । यससम्बन्धी गहिराइमा अध्ययन हुन सकेन र सतहमा पोखिएको समाचार स्वरूपका भ्रामक तथ्य मिश्रित मिथ्यांकले प्रवेश पायो भने सन्देह सिर्जना गर्न सक्छ । 

एमाले र एमाले विरुद्धको राग
कम्युनिष्ट पार्टी निर्माणको अनिवार्यता सँगसँगै जोडिएका कतिपय प्रश्नको निरूपणमा बिचार र व्यवहारले सुस्पष्ट शक्ति हो नेकपा (एमाले) । नेपालको भू–राजनीतिक परिवेश, यसले जन्माएका केही अस्वाभाविक जटिलताहरू, सामाजिक–आर्थिक जीवनसँग जकडिएको सांस्कृतिक सामन्तवादी उत्पादन प्रणाली, स्थानीय पूर्वाधार विकास–निर्माणका क्षेत्रमा पाइने राष्ट्रिय राजनीतिका ज्वलन्त र असरल्ल मुद्दा र मामिलाहरूमा सधैँभरि सुस्पष्ट रहँदै र प्राप्तिको लागि दृढताका साथ उभिँदै आएको एमाले, एमाले नेतृत्व र एमाले पङ्क्तिलाई पछिल्लो दशकयता कमजोर पार्न उल्लेख्य हतकण्डाहरू अपनाइए । यस निम्ति पछिल्लो एउटा नाङ्गो उदाङ्गो दृष्टान्त अध्ययनका रूपमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र सरकारलाई उखाल्न फाल्न गरिएको अप्रिय प्रयोग नै काफी छ । 

नग्न स्वरूपका चौतर्फी हमलाले पनि नपुगेर सिकार गर्न पासो थापे झैँ पासो थापियो, घेराबन्दीको सिकार बनाइयो । बिचार र सङ्गठनले सुदृढ एमालेको आन्तरिक जीवनलाई भत्काउन खोजियो तर एमाले एक इञ्चभर पनि भत्किएन, एमाले पङ्क्ति शिरदेखि तिरसम्म हल्लिएन, टसकामस भएन । एमाले पङ्क्तिमा दाग र धब्बा दिन, घाउ लगाउन र चिथोर्न नसकेपछि अहिले फेरि एमाले पार्टी सदस्यताबारे उछाल ल्याउन खोजिएको छ । कहीँ सीप नलागेपछि एमाले जीवनको कल्पवृक्ष यसको सङ्गठित स्वरूपको चर्चा परिचर्चा स्वयं एमालेलाई भन्दा बढी अरूलाई भएजस्तो अर्थात् जाँतोलाई भन्दा हातोलाई खसखसको रूपमा विकसित गरिएको छ । 

एमालेविरुद्ध गठबन्धन अस्त्र
एमालेमा गत स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनको बेला निर्वाचनको माहौलविरुद्ध जनसागरको बाढी पहिरो ल्याउने दाउमा गठबन्धन न्वारनदेखिकै बल प्रयोगमा थियो । अपेक्षाकृत पछार्न सकेन, स्वयं गठबन्धन कमजोर साबित भयो । तीन वटै चुनावताका उम्मेदवार छनोटताका निकै खेल्न खोज्यो, पत्तै पाएन अर्थात् छिटपुटबाहेक केही गर्न सकेन । एमालेले अघि सार्ने समानुपातिकमा उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत च्याँखे दाउमा लगाएर बसेको थियो, अहँ यहाँ पनि केही सीप लागेन । तहगत हिसाबले क्रियाशील सरकारसँग अन्तर सम्बन्धित राजकाजका क्षेत्रमा राजनीतिक नियुक्तिताका मज्जैले खेल्न खोज्यो, स्वयंमा कुण्ठा सम्हाल्नु सिवाय केही गर्न सकेन । 

पार्टीको आवधिक दिनचर्या, आन्तरिक जीवन सञ्चालन, कतिपय बेलाका निर्वाचन, अन्तर पार्टी व्यवस्थापन र पार्टी सम्बद्ध भातृ सङ्घ सङ्गठनका सम्मेलनमार्फत पदाधिकारी छनोटताका सलबलाउन खोज्यो, सकेन । एमाले पार्टी अरूभन्दा धनी तर कति पारदर्शी ? भन्दै पारदर्शिताको प्रश्नमा उभ्याउन चाह्यो, केही गर्न सकेन । अर्थात् चिसै पानीले नुहाउन बाध्य हुँदै आयो । अहिले यो शक्ति सदस्यता सङ्ख्या ओरालो लागेको मिथ्यांक प्रस्तुत गर्दै समाचार अनुमानमा भ्रामक खेती उमार्न खोज्दै छ । 

एमाले विरुद्धको रुन्चे स्वर 
​​​​​​​सदनमा एमालेको प्रभावशाली उपस्थितिलाई कमजोर पार्न, अन्यत्र ध्यान मोड्न र सदनको भूमिकालाई फितलो तुल्याउन यति बेला सेनाको सङ्ख्या कटौतीको विषय एकाएक उछालिएको छ । नेपालमा अस्थायित्व र अस्थिरताले घर गरेको हेर्न चाहनेले शक्तिले नेपाली राजनीति पूर्णतः अस्थिरताको सिकार भएको, सामाजिक अराजकता बढेको हेर्न चाहन्छन् । राजनीतिक र सामाजिक कारणले राज्य अस्थिर र कमजोर बनेको अवस्थामा नेपाली सेनाको उपस्थिति, सङ्ख्या, क्रियाशीलता र भूमिका निस्तेज भएको हेर्न चाहनु स्वाभाविक मात्र होइन, अहिलेसम्मको चलखेलको परिणामस्वरूप प्रकारान्तमा प्राप्त हुने अनिवार्य परिणति हो । सदनको भूमिकालाई यसरी डाइभर्ट गराइएको छ भने सदनबाहिर राजनीतिक–वैचारिक हिसाबले सङ्गठित र अनुशासित भनिएको एमालेको सदस्य सङ्ख्या घट्दो मात्रामा भएको सस्तो प्रचारबाजीले एमाले विरुद्धको राग ओकल्नुले विकल्पलाई पनि खुम्च्याउनु मात्र हो । यो सोचिसम्झी र योजनाबद्ध चालबाजी मात्र हो । यो रुन्चे स्वरमा प्रकट भइरहेको छ । 

एमाले सदस्य सङ्ख्या र स्थिति
आर्थिक वर्षको अन्त्यसँगै असार मसान्तसम्म एमालेको पार्टीमा सदस्यता अभिलेखनको सङ्ख्या ४ लाख र केही हजार मात्र देखिन्छ । एमाले यो देशको सबैभन्दा ठुलो, चुस्त र व्यवस्थित मानिएको र भनिएको राजनीतिक दल हो । त्यो ठुलो, चुस्त र व्यवस्थित भएको भनिएको केवल सङ्ख्यामा मात्र होइन, यसको गुणवत्ता कायम गर्ने विषय नै प्रमुख हो । कम्युनिष्ट पार्टीको सदस्य, नेता र कार्यकर्ताको गुणवत्ताको मापन गएको वर्ष सम्पन्न निर्वाचनको परिणामले देखाएको छ । आम रूपमा चुनावताका पार्टी सदस्यको सक्रियता, उपस्थिति र प्रस्तुतिको मापन, राजनीतिक–वैचारिक सुझबुझ र समर्पणलाई आधार मान्दै यस पटक पार्टीले एउटा विधि निक्र्यौलसहित आधार तयार गरेको छ । यसलाई नबुझ्ने र स्याल हुइयाँ मच्चाउनेले एमालेको सदस्य सङ्ख्यामा ह्रास भनेर श्रव्य दृश्य समाचार बनाइरहेका छन् र अफवाह फैलाइरहेका छन् । 

पार्टीको सम्पन्न ऐतिहासिक १० औँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिरमा झन्डै ८ लाख पुगेको सदस्य सङ्ख्या घट्नुमा केही आन्तरिक पक्षहरू छन् । यसलाई ओरालो लागेको अर्थमा बुझ्नु युक्तिसंगत हुँदैन । एउटा संसदीय अभ्यासको अभिन्न अङ्ग बनेको पार्टीले जनमतको रोजाइको पहिलो पार्टीको रूपमा उभ्याउन सकेको बेला उसका विरुद्ध सदस्य सङ्ख्याको गणितमा खोट देखाउनु प्रपञ्च मात्र हो । 

एकातिर च्याउ उम्रेसरह उम्रिएका ससाना पार्टीको प्रभावले पनि केही हदसम्म काम गरेको छ भने अर्को चाहिँ सम्पन्न १० औँ महाधिवेशनताका पार्टी विभाजनको असर नदेखाउन सदस्यताको कृत्रिम वृद्धि अहिले पनि कृत्रिम नै ठहरिएको साँचो हो । काँचो र कचिलो मानिसलाई चौतर्फी लडाइँ लड्दै आएको एमालेजस्तो पार्टी सदस्यको रूपमा प्रवेश दूरगामी, दिगो र दीर्घकालीन बन्न सकेन । पार्टी विभाजनका बाबजुद एमाले झनै बलियो भन्ने आभास तत्काललाई भयो तर यो टिकाउ र प्रभाव बन्न सकेन । यस क्रममा कतिपय मतदाताहरू कम्युनिष्ट हुनुभयो तर कम्युनिष्ट बन्नुभएन । बरु चुनावताका बजारको मूल्य निर्धारित वस्तुजस्तै बिकाउ मात्र हुनुभयो । राजनीतिक रुचि कम भएका, यदाकदा झन्डा र डण्डामुनि देखिएका, भेटिएका, सामान्य मतदाता, सर्वसाधारण समर्थक, आफ्ना आफन्त र नातागोतालाई समेत आफैँ पार्टी सदस्य बनेबापत बुझाउनुपर्ने शुल्क बुझाएर बनाएको सदस्य कतिपय घटनाक्रमसँगै पानीका फोकासरह भए । कतिपय ठाउँमा यो पङ्क्ति स्वयंमा हचुवा, कमजोर र अव्यवस्थित पनि भयो । यद्यपि, फाट्ट फुट्ट सदस्य सङ्ख्या केही नेताहरूको बहिर्गमन र नयाँ–नयाँ नामधारी पार्टीको घोडा किन्दा तबेला सित्तैमा भने झैँ आएको अफरले प्रभाव त पारेकै होला ! अवसरवाद र अवसर अभावमा उब्जेको निराशावाद किनारा लाग्यो होला ! यसले नै एमालेमा पहिरो गएको, विस्फोट भएको अर्थमा बुझ्नु राजनीतिक आग्रहबाहेक केही हुन सक्दैन । 

नयाँपनको आकर्षण र एमाले
तथ्यले भन्छ– राजनीतिक स्थायित्वको पक्षमा एमाले रहेको बेला युवा पङ्क्तिमा आशा, भरोसा र विश्वास जागृत भएको थियो । देशभित्र गरिखाने वातावरण बन्ने कुरामा युवा पङ्क्ति ढुक्क थियो । जब जब राजनीतिक अस्थिरता बढ्छ र नयाँ–नयाँ पार्टीहरूको उदय भएको छ, युवा पङ्क्तिको विदेश पलायन बढोत्तरी भएको छ । देशबाहिर जाने तरुण तन्नेरीको सङ्ख्या ह्वात्तै बढेको छ । पूर्वाधार निर्माण र विकासको परिकल्पना सहितको यसको अग्रसरता लिनुहुने अध्यक्ष केपी शर्मा ओलीको राजकाजको कार्यकाल युवामैत्री थियो, युवा आकर्षणले आकर्षित थियो । 

हा हा र हो हो को नाममा अहिले जे जस्तो भुमरी सिर्जना गर्न खोजिँदै छ, त्यो देशलाई बरबादीतर्फ धकेल्ने प्रयासको प्रतिफल स्वरूप विकसित अग्रसरता मात्र हो । युवा पुस्ताको ठुलो सङ्ख्या विदेशमा छ । उनीहरू ठुला र पुराना पार्टीसँग असन्तुष्ट छन् । विदेशमा बस्ने मतदातालाई भोट हाल्ने अधिकार दिइएको छैन । देशको अपेक्षित विकास हुन सकेको छैन । देशभित्रै पर्याप्त रोजगारीको अवसर सिर्जना गर्न सकिएको छैन । यस कारण पनि युवा जमात पुराना र ठुला राजनीतिक दलप्रति रुचि लिँदैनन् भनेर स्थापित परम्परा र मूल्य मान्यताविरुद्ध आफ्नै अग्रज र पूर्वजप्रति असहिष्णु हुन प्रेरित गरिँदै छ । मानिसमा विश्वास र उत्साहविरुद्ध विष छर्न खोजिँदै छ । 

यो प्रायोजित हो । जसरी राष्ट्रको सुरक्षासँग र अन्तर्राष्ट्रिय शान्ति मिसनसँग जोडिएको नेपाली सेनाको सङ्ख्या कटौती गर्ने बहस आरम्भ गर्न खोजिँदै छ, यसरी युवामैत्री विद्यमान राजनीतिक प्रणालीलाई कमजोर पार्न बेमौसमी बाजाको दन्तबजान सुरु गरिएको छ । निश्चय नै अन्य सङ्घसंस्था, अन्यत्रका देश र पार्टीजस्तै समयानुकूल सुधार गर्नु र यसको दक्षतामा अभिवृद्धि गर्नु अनिवार्य छ । तर यो पनि भएन, त्यो पनि भएन, बुढाले गरेनन्, फलानाले गरेनन्, तिलानाले गरेनन् आदि भनेर नकारात्मक भाव पैदा गर्दै प्राप्त सहज अवस्थाविरुद्ध सडकमा निम्छरो जवानलाई उतारेर देशलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको चक्रमा पार्नुहुन्न । 

नेकपा (एमाले) को सदस्य सङ्ख्याको विषयलाई लिएर थालिएको शृङ्खलाहीन संवाद र यसभित्र अटाइएका तर्क वितर्कमा अलमलिनु र तिलमिलाउनुपर्ने केही छैन । यथार्थमा २०७१ सालमा भएको एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा सदस्य सङ्ख्या जम्मा ३ लाख ६८ हजार थियो । अहिले त्यस बेलाको सङ्ख्यामा झन्डै २ लाख थपिँदै छ । चालू वर्षका लागि पनि झन्डै २ लाख २५ हजार नयाँ सदस्यता आवेदन प्राप्त भएको छ । यो सङ्ख्या घटेको हो कि बढेको ? यति बुझ्न यसबीचका यी दुई महाधिवेशनबाट अनुमोदित र स्वीकृत सदस्य सङ्ख्यालाई हेरे पुग्छ । अब त ३० प्रतिशत युवा नेतृत्व एमालेको प्रत्येक कमिटी प्रणालीमा अनिवार्य छ । राजनीतिक उद्देश्य, उद्देश्य प्राप्तिका लागि युवा भूमिका र सहभागिताका दृष्टिकोणले एमालेको विकल्प एमाले मात्र हुनसक्छ, अरू केही र कोही पनि हुँदैन ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ५२ बजे