सुनको मूल्यमा नयाँ कीर्तिमान

जापानमा हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने

काठमाडौँ । जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । 

सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । ओलम्पिकको छनोट प्रतियोगिता रहेको उक्त च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह हुनुहुन्छ । 

नेपाल पौडी सङ्घका अध्यक्ष बज्राचार्यले यही साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कङ्ग्रेसमा पनि सहभागिता जनाउनुहुनेछ ।

उक्त च्याम्पियनसिपअन्तर्गत यही साउन ७ गते नासिरले चार सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने साउन ८ गते गौरीकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । सोही दिन नासिरले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । 

साउन ९ गते डुवानाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरीकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले एक सय  मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । 

११ गते डुवानाले एक सय मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली भोलि जापान प्रस्थान गर्नेछन् । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ५८ बजे