भक्तपुरमा विपद् व्यवस्थापन तयारी पूरा, जनशक्तिदेखि सामग्री समेत व्यवस्थापन

भक्तपुर । मध्य वर्षामा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटना भएर हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा क्षति हुन नदिन भक्तपुर जिल्लामा विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ ।

गत असार २२ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औँ बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले विपद्का पूर्व सूचना प्रणाली थप व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।

भक्तपुरले भने त्यसअघिनै पूर्व तयारी गरिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले भने १० महिना अगाडि नै जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ बनाएर तयारी गरेको र यो वर्षाका लागि आवश्यक सबै तयारी पूरा गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक खगेन्द्रप्रसाद रिजालले जिल्लामा बाढी, पहिरोजस्ता वर्षामा हुने विपद्बाट क्षति हुन नदिन, क्षति न्यूनीकरण गर्न र विपद् आएमा तत्काल उद्धार गर्न सम्पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि जिल्लाका चार वटै नगरपालिकासँग छलफल गरेर विपद् व्यवस्थापनका लागि पूर्व तयारी गरेका छौँ । नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखिएको छ । 

भक्तपुरमा उद्धारका लागि आवश्यक सबै सामग्री नेपाली सेनाको सूर्य विनायक ब्यारेकमा राखिएको छ, जनशक्ति पनि तयारी अवस्थामा छ, भक्तपुरमा वर्षाका कारण हुनसक्ने विपद्बाट धनजनको क्षति हुन नदिन सचेत छौँ ।”

जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्य विनायक र चाँगुनारायण चार वटै नगरपालिकाले आफ्ना क्षेत्रमा हुनसक्ने बाढी, पहिरो एवं डुबानबाट क्षति हुन नदिन विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखेका छन् । 

यहाँका मनोहरा तथा हनुमन्ते नदीमा बाढी आएमा तत्काल उद्धार गर्ने, भक्तपुर, मध्यपुरथिमि क्षेत्रमा हुनसक्ने डुबान र चाँगुनारायण तथा सूर्य विनायक नगरका पहाडी क्षेत्रमा हुनसक्ने पहिरोको जोखिमतर्फ सचेत रहँदै नगरपालिका एवं जिल्ला विपद् व्यवस्थापन समितिले सबै तयारी पूरा अवस्थामा राखेको प्रजिअ रिजालले बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ४६ बजे