बुधबारदेखि काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर बुधबारदेखि नउठ्ने भएको छ ।

फोहोरमैला व्यवस्थापन संघले बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोध कारण बुधबारदेखि काठमाडौँको फोहोर नउठ्ने बताएको हो ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीले फोहोर विसर्जन गर्न मंगलबार पनि अवरोध गरेपछि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकिएका छन् ।

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीहरुले नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए । फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो ।

सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका छन् ।

सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको संघले जनाएको छ । मंगलबार भने फोहोर बोकेको गाडी काठमाडौँबाट नै गएका छैनन् । काठमाडौँ उपत्यकाबाट दैनिक करिब ३८० वटा ट्रक फोहोर बोकेर बञ्चरेडाँडा जाने गरेका छन् ।

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  २ : ०७ बजे