ललिता निवास प्रकरण: निर्णय गर्ने बचाएर तोक हान्नेलाई फसाएको आरोप

काठमाडौँ। ललिता निवास प्रकरणको अनुसन्धानको नाउँमा ठुला माछाहरुलाई जोगाउँदै साना भुराहरु पक्राउ गरिरहेको आरोप सरकारलाई लागेको छ । 

 बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्न‍े प्रकरणको अनुसन्धानका क्रममा संलग्न राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक व्यवहार भएको भन्दै सरकारका सचिवहरूले असन्तुष्टि जनाएका हुन् । अनुसन्धानका क्रममा कर्मचारीमाथि भएको व्यवहारबाट प्रशासनमाथिको विश्वसनियतामा ह्रास आउन लागेको सचिवहरूको भनाइ छ । 

ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा कार्यरत सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि कर्मचारीहरूबीच अब के र कसो हुने हो भन्ने भय र चर्चा पनि सचिवहरूको बैठकमा भएको छ । बैठकमा यस्तो व्यवहारले कर्मचारीतन्त्र र प्रहरी प्रशासनबीच वैमनश्यता आउने हो कि भन्ने कुरा पनि उठेको थियो । सचिव राउत पक्राउ परेपछि सहसचिव, उपसचिव, अधिकृत र नासुसम्मका कर्मचारीले मुख्यसचिवलाई काम गर्न अप्ठ्यारो भएको भन्दै यो अवस्थाको अन्त्य गर्नका लागि पहल लिन भन्दै आएका थिए । कुनै फाइल निर्णयकर्ता उपल्लो तहका व्यक्तिको आदेशमा तोक लगाएकै कारण सचिव राउतलाई पक्राउ गरिएको तर निर्णयकर्ता भने पक्राउ नपरेको भन्दै उनीहरूले आपत्ती जनाए । 

सोमबार ९ बजेदेखि ११ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सचिवहरूको बैठक बसेको थियो । मुख्यसचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकमा यो कुरा उठेको हो । बैठकमा ललिता निवास प्रकरणमा संलग्न कर्मचारी र राजनीतिक नेतृत्वलाई अनुसन्धान गर्ने निकाय प्रहरीको सीआईबीले फरक(फरक व्यवहार भएको भन्दै सचिवहरूले असन्तुष्टि जनाए  ।अनुसन्धान गर्ने निकायले पनि स्वतन्त्र अनुसन्धान गर्नुपर्नेमा स्थापित विधि र प्रक्रिया मिचेको उनीहरुको आरोप छ ।  अनुसन्धानमा यस प्रकरणमा संलग्न सबैलाई समान व्यवहार गरीनु पर्ने उनीहरुले बताए । निर्णाय गर्नेलाइ छाडेर कर्मचारी समात्नु नौ‌टकी भएको उनीहरुको आरोप छ । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ३६ बजे