नक्कली कागजात पेश गरी श्रम स्वीकृति लिएका तीनजनालाई विमानस्थलबाटै फर्काइयाे

काठमाडौं । अध्यागमन विभागले नक्कली कागजात पेश गरी श्रम स्वीकृति लिएका तीनजनालाई कुवेत जान प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ । नक्कली कागजपत्र पेश गरेर श्रम स्वीकृति लिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले कुवेत हिँडेका तीनजनालाई प्रस्थान अनुमति नदिई प्रक्राएको हो । 

अध्यागमनले चन्द्रबहादुर गुरुङ,राजकुमार श्रेष्ठ र काजीराम श्रेष्ठलाई कुवेत जाने अनुमति नदिइ फिर्ता पठाएको हो । उनीहरूले कुवेतको नक्कली कागजात  सिभिल आइडी पेश गरी श्रम स्वीकृति लिएको खुलेको हो । जबकी कुवेत नपुगी त्यहाँको सिभिल आइडी लिन नसकिने जानकारहरू बताउँछन्। उनीहरु कुवेत एयरलाइन्सको उडान नम्बर केयू ३९२ बाट  सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्दै थिए ।

चन्द्रबहादुर र  राजकुमार पहिलो पटक विदेश जाँदै थिए । काजीराम भने यसअघि दुवइ गएका थिए।

अध्यागमनका अधिकारीहरूले कागजात जाँच गर्दा श्रम स्वीकृतिलगायत उनीहरूको प्रवेशाज्ञा र रोजगार कम्पनीसँग भएको सम्झौता पत्रमा समेत समस्या देखिएको छ ।  सम्झौता पत्रमा भएको कम्पनीलगायतको विवरण फरक पाइएपछि अध्यागमनका अधिकारीहरूले उनीहरूमाथि थप सोधपुछ गरेका थिए । 

श्रम कार्यालयका अधिकारीले नक्कली कागजातका आधारमा उनीहरूलाई कसरी श्रम स्वीकृति दिए भन्ने विषय अनुसन्धानको पेचिलो विषय बनेको छ । अर्को मुलकको सभिल आइडी बनाएर उनीहरूले किर्ते काम गरेको समेत अध्यागनका अधिकारीहरूले बताएका छन् । 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  २ : ५५ बजे