लोकतान्त्रिक प्रणालीमा राज्य कुनै व्यक्तिको आवेग र भावनाले होइन विचार र विधिले चल्छ

प्रीतम सिंहका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डले जनता र विपक्षी दलहरूको व्यापक दबाबपछि आफूले गल्ती गरेको भनेर संसद्को रोष्टममा उभिएर स्वीकारेका छन् । आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । संसद्मा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘प्रधानमन्त्रीको हैसियतले त्यो नबोल्नु पर्ने थियो । त्यो दिन म प्रधानमन्त्री भएर बोलिनँ, ज्ञानुको बुवा भएर बोलेँ ।” यो भनाइबाट प्रधानमन्त्रीको पदमा बसेर उनले गल्ती गरेको स्पष्ट हुन्छ । राजनीतिमा संलग्न सबै पक्षले बुझ्नुपर्छ, लोकतान्त्रिक प्रणालीमा राज्य कुनै व्यक्तिको आवेग र भावनाले होइन, विचार र विधिले चल्छ । 

प्रधानमन्त्री प्रचण्ड संसद्मा भावनात्मक रूपमा भक्कानिएको अवस्थालाई गोविन्द पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “ज्ञानुको बा ज्ञानु सम्झेर हिजो संसद्मा भक्कानिनु भो । जनयुद्धका ती दश वर्षमा “सहिद बनाइएका” हजारौँ हजार ज्ञानु र उनका दिदीबहिनी, दाजुभाइहरू सम्झेर बाउआमाहरू भक्कानिए । अहिलेका भावुक ज्ञानुका बा त्यति बेला भावुक थिएनन् । उति बेलाका प्रचण्डले दुनियाँ जति भक्कानियोस् सुन्ने कुरा भएन ।” तर प्रचण्डको उपयोगितावाद र अवसरवाद भावनात्मक रूपमा छचल्किएको कुरो सञ्चार माध्यमहरूले चर्चाको विषय बनाएनन् ।

राजनीतिमा खास गरी कार्यकारी पदमा रहेको व्यक्तिहरूले आवेगमा आएर अनि भावनामा बगेर बोल्ने होइन । तर प्रधानमन्त्री प्रचण्डले आवेगमा आएर अनि भावनामा बगेर बोलेको देखियो । अन्यथा प्रचण्डले प्रधानमन्त्री पदको मर्यादा राख्थे, देशको स्वार्थ हेर्थे, देश र जनताको अपेक्षा बुझेर क्रियाशील हुन्थे, तर हुन सकेनन् किनभने उनी बाह्य आशीर्वाद र प्रभावमा प्रधानमन्त्रीको कुर्सीमा कायम छन् । विचार र विवेक गुमाएपछि प्रचण्ड भइन्छ किनभने प्रचण्ड भनेको प्रधानमन्त्री भएर के बोल्ने के नबोल्ने र आफ्नो पदीय हैसियतअनुसार कस्तो कार्यक्रममा जाने वा नजाने हेक्का नराखी दक्षिणको आशीर्वाद कायम गर्न देखिन्छ । हिजो आफूले बोलेको कुरालाई लिएर स्पष्टीकरणका साथ माफी माग्नुपर्ने अवस्थामा पुग्नु भनेको नैतिक रूपमा प्रधानमन्त्रीको पदमा बस्न अयोग्य छु भनेर आफैले स्वीकारेको हो ।

प्रीतम सिंहका बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य रामहरि खतिवडाले भनेका थिए, “प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति ठिक थिएन, प्रधानमन्त्रीबाट गल्ती भएकै हो । तर नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु सरासर गलत हो ।” प्रधानमन्त्री प्रचण्डले गल्ती गरेको पनि भन्ने अनि नैतिक रूपमा दण्डित हुनुपर्छ भन्दा नेकपा एमालेले गलत गर्‍यो भन्ने नेपाली काँग्रेसको कस्तो बुझाई र मान्यता हो ? नेपाली काँग्रेसको बुझाई र मान्यतालाई चुनौती प्रधानमन्त्री प्रचण्डको पछिल्लो स्वीकारोक्तिले दिएपछि काँग्रेसीहरू मौन देखिएका छन् ।

हिजोआज एकातिर राष्ट्रिय सहमतिको नाममा कम्फर्टेबलवादले भारतीय स्वार्थ बलियो हुने गरी सत्ताको प्रयोग गर्दैछ भने अर्कातिर भ्रमपूर्ण लोकप्रियतावादीहरूले जनतालाई भ्रमित बनाउन खोज्दा देशभक्त तथा प्रगतिशील लोकतान्त्रिक राजनीतिले चुनौतीको सामना गर्नु परिरहेको छ ।

संसद्मा प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्तिपछि नेकपा एमालेका सांसद रघुजी पन्तले भनेका थिए, “प्रधानमन्त्रीले गल्ती स्वीकारेपछि उहाँले नैतिक रूपमा प्रधानमन्त्रीको पदमा बसिरहनु हुँदैन । हामीले राजीनामा नैतिकताका आधारमा नै मागेका थियौँ । राजनैतिक तथा नैतिक रूपमा हामीले उठाएको माग ठिक प्रमाणित भएको छ ।” प्रधानमन्त्रीले संसद्मा बोलेपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले व्यहोरेको पीडा संवेदनशील छन्  उहाँका ती पीडामा साहस भर्न सिङ्गो सदन उहाँलाई साथ दिन तयार छ । तर, प्रधानमन्त्रीका रूपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैँ छैन है ! हेक्का रहोस् ।”

अब पनि प्रचण्डलाई शङ्काको सुविधा दिएर प्रधानमन्त्रीमा निरन्तरता दिन नेपाली काँग्रेस तयार भइरहनु भनेको प्रचण्डको राष्ट्र द्रोहमा साथ दिनु हो । नेपाली काँग्रेसका नेताहरू अनौपचारिक रूपमा कुरा गर्दा प्रचण्डको अभिव्यक्ति ठिक होइन भन्छन् तर औपचारिक रूपमा प्रचण्डको विपक्षमा उभिने नैतिक साहस देखाउँदैनन्। यस सवालमा वृद्ध सभापति शेरबहादुर देउवा र युवा महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाको आधिकारिक धारणा जनताले खोज्दै छन् । यस प्रसङ्गलाई लिएर पत्रकार किशोर नेपालले कान्तिपुरमा लेखेका छन्, “माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँध थापेका छन् । तर माओवादी र काँग्रेस दुवैले एक अर्काप्रति भरोसा गर्न सकेको देखिएको छैन । शेरबहादुर देउवाका लागि प्रचण्डसँगको राजनीतिक सम्बन्ध एक प्रकारको राजनीतिक बाध्यता बनेको छ । देउवा स्पष्ट बोल्ने अवस्थामा छैनन् ।” किशोर नेपालको यो खालको विश्लेषणले देउवाका कारणले काँग्रेस बन्धक बन्दै छ भन्ने बुझ्नुपर्ने हुन्छ ।

भारतको आशीर्वाद र संसद्मा बहुमत कायम रहेसम्म आफूले जे बोले पनि र जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानबाट प्रधानमन्त्री प्रचण्ड निर्देशित भएको पाइन्छ । अनि राज्य शक्तिको दुरुपयोग गरेर होस् कि समाजवादी मोर्चा बनाएर विपक्षीलाई मात्र होइन, सत्ता सहयात्री दलहरूलाई पनि तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने नीतिबाट प्रचण्ड निर्देशित भएको देखिन्छ । विपक्षीहरू त्यसको प्रतिवाद गर्दै छन् भने नेपाली काँग्रेस लगायतका सत्ता साझेदार दलहरू मूकदर्शक बनेका छन् । प्रधानमन्त्री प्रचण्डको त्यो अभिव्यक्तिलाई लिएर अशोक पौडेलले लेखेका छन्, “एक जना व्यापारीको पुस्तक विमोचन कार्यक्रममा भारतीय राजदूतसँगै उभिएर भावनामा बहकिएर देशको कार्यकारी प्रमुखबाट भएको गल्तीले नेपालीहरूलाई लज्जा बोध भएको छ ।” तर यो लज्जा बोध सत्ताधारी दलका नेताहरूमा भने पटक्कै देखिएन ।

लोकप्रियतावादीहरूले संसद्मा नेकपा एमालेभन्दा बेग्लै देखिन खोज्दा कम्फर्टेबलवादी प्रधानमन्त्री प्रचण्डले दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान विरुद्ध दिएको अभिव्यक्तिलाई स्वाभाविक कमजोरी ठान्न पुग्यो। जबकि त्यो अभिव्यक्ति क्षम्य प्रकृतिको थिएन। यसबाट हामीले बुझ्नुपर्छ, कम्फर्टेबलवादी र लोकप्रियतावादी पात्रहरू अघि लगाएर न राष्ट्रिय स्वाधीनता बलियो हुन्छ न त लोकतान्त्रिक प्रणालीमार्फत देश समृद्ध नागरिक सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा नै पूरा गर्न सकिन्छ । यी दुई वादीहरूबाट नेपालको राजनीतिमाथि मात्र होइन देशको राष्ट्रिय स्वाधीनतामाथि पनि खतरा छ ।

२१ औँ शताब्दीमा लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र नै हो । बरु लोकतन्त्रमा दल र नेतृत्वहरूले निर्वाचनमार्फत जनादेशबाट आवधिक रूपमा आफूलाई श्रेष्ठ साबित गर्न सक्नुपर्छ । तर हिजोआज एकातिर राष्ट्रिय सहमतिको नाममा कम्फर्टेबलवादले भारतीय स्वार्थ बलियो हुने गरी सत्ताको प्रयोग गर्दैछ भने अर्कातिर भ्रमपूर्ण लोकप्रियतावादीहरूले जनतालाई भ्रमित बनाउन खोज्दा देशभक्त तथा प्रगतिशील लोकतान्त्रिक राजनीतिले चुनौतीको सामाना गर्नु परिरहेको छ । यो यथार्थ जनताले नबुझ्दासम्म प्रचण्डको उपयोगितावादबाट देश प्रताडित भइरहन्छ । हामी बुझ्नै पर्छ, बुर्जुवा दक्षिणपन्थीहरूको लक्ष्य, उद्देश्य र चरित्र जस्तै लोकप्रियतावादीहरूको लक्ष्य, उद्देश्य र चरित्र हुन्छ । एउटै लक्ष्य, उद्देश्य र चरित्र भएकाहरूले एक अर्कालाई संरक्षण गर्न खोज्नु अस्वाभाविक होइन । त्यसैले यी दुई वादीहरूबाट नेपालको लोकतान्त्रिक प्रणालीलाई मात्र होइन देशको स्वाधीनतामाथि नै खतरा छ ।

लोकतान्त्रिक प्रणालीमा राज्य सञ्चालनमा तोकिएको विधि, स्थापित मान्यता र राजनीतिक विचारहरूबाट निर्देशित भएर देश अघि बढ्छ । यसमा अवरोध पुर्‍याउने नियतका साथ कम्फर्टेबलवादीहरूले लोकप्रियतावादीहरूसँगको अघोषित सहकार्यमा राज्यको चार वटै अङ्गहरू प्रयोग गरिरहेका छन् । प्रचण्डको आवेगपूर्ण भावनात्मक भनाइका बारेमा लिएको नरम नीति त्यसको बलियो प्रमाण हो । अहिले कम्फर्टेबलवादी र लोकप्रिययतावादीहरूले लोकतान्त्रिक गणतन्त्रलाई बदनाम बनाउने मात्र होइन, नेपालमा नियन्त्रित अस्थिरता बढाउने ढङ्गले अघोषित सहकार्य गरिरहेका छन् । आज कम्फर्टेबलवादी र लोकप्रियतावादीहरूका गतिविधिहरूका कारणले देशमा अराजकता र स्वछन्दता बढ्दा विकासका क्रियाकलापहरूमा अवरोध भइरहेको छ ।

लक्ष्य, उद्देश्य र चरित्र अनि गोत्र पनि एउटै भएका कम्फर्टेबलवादी र लोकप्रिययतावादीहरूले जनता झुक्याउन बेग्ला बेग्लै राजनीतिक दुकान चलाएका छन् । सही सूचना र राजनीतिक रूपमा साक्षर नहुँदा जनता पनि भ्रममा छन् । अनि यसबाट कम्फर्टेबलवादी र लोकप्रिययतावादीहरूले राजनीतिक लाभ लिइरहेका छन् ।  

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : १६ बजे