यस्तो छ आजको विनिमय दर

कारमा ग्याँस सिलिण्डर पड्किँदा सात पाकिस्तानीको मृत्यु, १४ जना घाइते

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा शनिवार एउटा ठुलो दुर्घटना भएको छ । 

पञ्जाबको सरगोधा जिल्लाको भलवल तहसीलमा रहेको सरकारी कलेज अफ कमर्स नजिकै एउटा गाडीको ग्यास सिलिन्डर विस्फोट भएको अधिकारीहरूले बताएका छन्। यसबाट सात जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दुर्घटना बारे उद्धार ११२२ को नियन्त्रण कक्षले जानकारी दिँदै सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य १४ जना घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर छ । सबैलाई भलवल तहसील मुख्यालय अस्पतालमा भर्ना गरिएको छ। मृतक मध्ये पाँच जनाको सनाखत हुन सकेको छैन । 

स्रोतका अनुसार शनिवार ८ः३५ बजे रेस्क्यू ११२२ लाई सिलिन्डर विस्फोट भएको फोन आएको थियो । नौ एम्बुलेन्स, तीन दमकल र एक उद्धार गाडी सात मिनेटमा घटनास्थलमा पठाइयो। गारा ब्रदर्स ट्रान्सपोर्टको हाइएस गाडीमा पेट्रोलियम ग्यास सिलिन्डरबाट ग्यास चुहिएर आगलागी भएको बताइएको छ । 

अस्पताल पुर्‍याइएको घाइतेहरूमा चार र १२ वर्षका दुई बालबालिका र ५० वर्षका दुई वृद्ध पुरुषहरू थिए।

गत महिना देशभर तीन वटा छुट्टाछुट्टै ग्यास सिलिण्डर विस्फोटमा परी तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ११ बजे