बाउन्न सालमा सारङ्गीजस्ता पेट भएका नेताहरू जनताको पेट प्वाल परेको सारङ्गी झै चौबाटोमा मिल्क्याएर बहत्तर सालमा घ्याम्पाजत्रो भुँडी लिएर निस्के । उसबेला कडकुरोमा बसेका सुकुम्बासी नेताहरु जनतालाई अरबको मरुभूमिमा धकेल्दै आफूले खरबमा हिसाबकिताब गरिरहेछन् र हवेलीमा हावा खाइरहेछन् । त्यतिबेला अरूले साइकल चढेको देखेर थुक घुटुघुटु निल्ने यतिबेलाका साइलकहरू आज प्राडो पजेरो र बिएमडब्लु भित्रको कालो सिसाभित्र आफ्नो कालो कर्तुत छोपिरहेछन् । यति छिटो यिनीहरूले भ्रष्टाचार नगरी शिष्टाचारबाटै समृद्धिको अग्रगामी छलाङ् मारेका हुन् त ? तर यिनै साइँदुवाको राज्यका केही भ्रष्टहरूले भ्रष्टाचार नियन्त्रणको हावादारी हल्ला मच्चाइरेछन् र आफ्ना भ्रष्टाचारको लाज छोप्न यिनीहरू मदारीखेल देखाइरहेछन् ।
अँ, मदारी अर्थात् जादुगरले एकछिनका लागि मान्छेलाई एकछिन डोकाले छोप्छ । अनि “अन्तरुमन्तरू लखन्तरु फूः” भन्दै घोप्टिएको डोकोमा फुक्छ । एकछिनपछि डोको निकाल्छ, मान्छे मुसो बनेको दर्शकलाई देखाउँछ । त्यो भ्रम देखेर डोको भित्रको मान्छे पक्कै मुसो नै बनेको हो भनी दर्शक पत्याउँछन् । अहिले केही मन्दबुद्धिहरू मान्छेलाई मुसो ठानिरहेछन् र त्यै झुक्याउने मदारीको विश्वास गरिरहेछन् ।
केपी ओलीका पालामा आयोग गठन गरेर ललिता निवासका भ्रष्टाचारको पितृ उतारे । अहिलेको सरकारी मुखिया र त्यै मुखियाका पनि हरवा चरवाहरू त्यतिबेला सरकार ढाल्न बौलाएर लागे । कामै गर्न दिएनन् । अहिले त्यतिबेलै ठहर भैसकेकाहरू र यिनले नै समात्न नदिएकाहरूलाई ओलीकै बाटो हिँडेर समातिएको छ । लबस्तराहरू केपी ओलीलाई नै ललिता निवास खाएझैँ गरी हल्ला मच्चाइरहेछन् । चोरहरू चौतारोमा चढिरहेछन् र नचोर्नेलाई शूलीको धाक दिइरहेछन् ।
राज्यले कागले कान लगो भन्छ । फेसबुक र टिकटकमा केही म्याउँम्याउँ गर्ने म्याउँवादीहरू छन् तिनीहरूका आँखाका नानीमा जनयुद्धमा बगेका निमुखाहरूको रगत पोतिएको छ, बिचराहरूका आँखामा त्यै रगत जमेर रातो फुलो परेकाले तेसै ‘हो हो मा हाहु’ गरिहाल्छन् । केही अर्काथरी बबुराहरू छन्, कान छाम्न छाडेर राज्यका हल्लाका पछाडि कान खोज्न कुँदिरहेछन् कान छामिरहेका छैनन् । यिनीहरूलाई त रक्तपात र विध्वंश मच्चाएर मुलुकलाई बर्बाद पारेको धुन्धुकारीले पछाडिबाट गर्धनमा खुकुरी राखेर अगाडि बडहरको डाले घाँस हालिदिएपछि चपाउँदै उग्राउन ठिक्क छ। यसो गरेर ऊ सत्रहजारका रगतले लतपतिएको शरीरलाई गेरुवस्त्र पहिरेर र चटक गरेर पवित्र पार्न खोजिरहेछ, आफूलाई मुलुकको मसिहा साबित गर्न दिउसै सपना देखिरहेछ ।
ब्वाँसोले गाइको गुदद्वार कन्याइरहेछ, गाई मक्ख परेर ब्वाँसोलाई पुच्छर उचालेर अझै कन्याओस् भनेर सजिलो पारिरहेछ, तर ब्वाँसोले पुच्छरमुनि कन्याइरेछ, पुच्छर कन्याउँदा कन्याउँदै गुदद्वारभित्रै हात हालेर आन्द्राभुडी थुतिरहेछ । ब्वाँसाले अहिले कन्याई कन्याई आन्द्राभुँडी थुतेको गाईलाई अत्तोपत्तो छैन ।
एउटो खुस्केट सदनमा बर्बरायो, केपी ओलीले जलहरीको सुन खाए भनेर । फेसबुकमा केपी ओलीले सुनैसुन लगाएको फोटो छ्याप्छ्याप्ती पारियो । मै हुँ भन्ने पत्रकारहरू पनि पत्रुकार शैलीमा बर्बराए र फेसबुकका भित्ता भरि केपी ओली विरुद्ध अम्लपित्त पोखे । यिनीहरू एकछिन मुतको न्यानोमा रमाए । अहिले त्यो न्यानो चिसियो । पशुपतिमा एघार किलो सुन हराएको रहेनछ । थाहा भयो । यिनलाई त्यो पहिल्यै थाहा थियो तर यी राक्षसहरूलाई त आम हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथलाई चिथोरेर छियाछिया पार्नु थियो । भत्काउनु थियो । यहाँको संस्कृतिमाथि हमला गरेर विदेशी धर्म र संस्कृतिका बनमारा रोप्ने र मुलुकको संस्कृतिलाई छियाछिया पार्ने कसम खाएर मुलुकमा दशबर्से बबन्डर यिनले तेसै कहाँ मच्चाएका हुन् र ? त्यसैले त यिनले पशुपतिमा पटकपटक खने । यिनीहरूका आरोपको लङ्गोटी खुस्क्यो । यिनीहरूलाई हिम्मत छ अरू धर्मावलम्बीहरूका आस्थाका केन्द्रमा छिर्न ? अझै स्मरण रहोस्, यिनले जलहरी बनाएको सुन यति तोला र यति लाल पुगेन भनेर पटकपटक पशुपतिनाथमा कोदालो चलाउनेछन् र हिन्दु संस्कृतिको हुर्मत लिनेछन्, यिनीहरूलाई जसले यो बबन्डर मच्चाउन खेतालो लगाको हो त्यो मेलो सक्न यिनीहरू कन्दनी चुड्ने गरी कस्सिएरै लागेका छन् ।
यससन्दर्भमा एउटा कथा भनिहालूँ, एकादेशमा एउटा चौपट राजा रहेछ । उसका गोठमा गाईलाई स्याहार गर्ने ग्वालाहरू रहेछन् । कुन्नि कसले हो राजालाई एउटा सन्की ग्वालाले “दानामा भ्रष्टाचार भएकै छ” भनेर सुनाएछ । एकदिन चौपट राजाले एउटा ग्वालालाई पाँच किलो दानाको कुडो पकाएर बिहानै गाईलाई खुवाउनु भनेछ । अनि त्यै कुँडो खाएको गाइको गोबर ल्याउनु भनेर राजाले ग्वालालाई अराएछ । बिहान पाँच किलो कुडो खाएको गाईले बेलुकी एक किलो मात्रै हगेछ । चौपट राजाले कुँडो ख्वाउने ग्वालालाई बोलाएर झपारेछ । पाँच किलो खाएको गाईले एक किलो मात्र किन हगो ? चार किलो दाना तैले भ्रष्टाचार गरेकै होस् । ग्वालाले भनेछ, अलिकति त पिसाबबाट पनि गाछ माराज ! अरू आन्द्रामा पनि होला माराज ! मैले भ्रष्टाचार गरेकै छैन । चौपट राजाले हिनामिना भएको चार किलो दानाको भ्रष्टाचार छानबिन गर्न गाईको आन्द्रा खोतल्न लगाएछ । बिचरो गाई मोरेछ ।
र यसै गरी यहाँ पनि पशुपतिनाथ मन्दिरका आन्द्रा थुतिरहेछन् र हाम्रो आस्थाको धरोहरको पटकपटक हत्या गरिरहेछन् ।
र अन्त्यमा एउटा कथा भनेर बिट मार्छु । एउटा बापतीले हाडनाता करणी गरेछ । बाह्रबर्षमा पाप धुरीबाट कराउँछ भन्ने सुनेको उसले पाप धुरीबाट कराउने हो कि भन्दै अलिअलि तर्सेको पनि रहेछ । तर ठीक बाह्रौँ वर्ष पुगेको राती बाह्रबजेसम्म पनि पाप धुरीबाट कराएनछ । ऊ ढुक्क भएछ, अनि निर्धक्क हुँदै राती साढे बाह्रबजे आफनै घर्को धुरीमा गएछ र भनेछ, देख्यौ आजभन्दा बाह्रवर्ष पहिले मैले मेरो फलानु नाता पर्ने फलानुलाई करणी गरेको थिएँ । बाह्रवर्षपछि पाप धुरीबाट कराउँछ भन्थ्यौ नि । खै, कराएको ? भन्दै कराएछ । यसरी ऊ आफैले आफुले गरेको अपराधको पोल खोलेछ ।
त्यसैले बगलीमा पच्चिस वर्ष अघि देशलाई चिरा पार्ने छुरा लिएर धुन्धुकारीले गेरुवस्त्र धारण गर्दै रामनामी ओढ्दै दिल्लीले प्रधानमन्त्री बनाइदिएको हो मुलुकमाथि दशबर्षे जघन्य अपराध गरेको अपराध आफै कबुल गर्छ । कहिले पाँचहजार मात्रै मैले मारेको हो भनेर बक्छ । स्मरण रहोस् यो क्रम निरन्तर जारी रहनेछ । ऊ कसको बुख्याँचा हो भन्ने कुराको शतप्रतिशत पोल निजले खोल्ने दिन अब छिटै आउनेछ । अस्तु !
प्रकाशित मिति : २३ असार २०८०, शनिबार १२ : ५९ बजे
प्रतिक्रिया