३० वर्ष पहिले २०५० सालमा आजको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का बारेमा यति ठुलो परिकल्पना गरेको थिइन । न म ३० वर्षसम्म संस्थाको अध्यक्ष भएर नेतृत्व गर्ने छु भन्ने नै लागेको थियो । संस्था स्थापनाको समयमा मेरो प्राथमिकतामा राजनीति, निजी व्यवसाय, परिवारको जिम्मेवारी धेरै थियो । परिस्थितिले जता डोहोर्याउछ त्यतै लाग्नुपर्ने अवस्था थियो । गन्तव्य विनाको यात्रा जस्तो ।
सहकारी संस्थाको स्थापना भएपछि यसलाई कसरी सफल बनाउने, कसरी राम्रो गर्ने भन्ने हुने नै भयो । सहकारीमा पनि कुनै ठोस योजना बनाएर काममा लागिएन बरु तत्कालीन कथाले के माग्छ त्यसै गर्दै गइयो । जस्तै, खाता खोलेर पैसा जम्मा गर्न थालियो, पैसा भएपछि कर्जा लगानी गर्न थालियो, कार्यालय सानो भएपछि ठुलो बनाउँदै लगियो । काम गर्ने मानिसको खाँचो पर्दा कर्मचारी थप गर्दै गइयो । समस्या आउँदा समाधान गर्ने गरी निर्णय र कार्यान्वयन गरियो । सिकाइका आधारमा नीति बन्दै गयो । अनुभव बढ्दै गयो ।
सहकारीको आकार बढ्दै गयो । सेवा केन्द्रहरू स्थापना गर्दै गइयो । सदस्य थपिँदै गए । समिति उपसमितिमा नयाँ नयाँ सदस्य थपिँदै गए । सुरुमा नितान्त पारिवारिक अवस्थाबाट सुरु भएको संस्थाले आकार बढाउँदै गयो । सबैको विश्वास जित्न संस्थालाई पारदर्शी बनाउँदै लगियो । मेरो पहिचान राजनीतिक रूपमा स्थापित भएको भए पनि सहकारीमा राजनीतिको प्रभाव पर्न नदिन र सबैलाई समेटेर, सबैलाई समान व्यवहार गर्ने काम गरियो । आस्थाका आधारमा कसै प्रति कुनै विभेद र आग्रह गरिएन । त्यो समयमा यस्तो काम गर्न लगभग असम्भव छ जस्तो लाग्थ्यो । यो एमालेको सहकारी हो भन्ने आरोप हामीलाई लगाइन्थ्यो । यो आरोपलाई मुखले भनेर होइन व्यवहारले प्रमाणित गर्नुपर्ने आवश्यकता थियो । बर्षौको प्रयोगले मात्रै यसको जवाफ दिन सकिएको छ ।
कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेर शपथ लिँदा आफ्नो जीवन पनि कम्युनिष्ट पार्टीको सिद्धान्तको मातहतमा राख्ने छु भन्ने आशयको शपथको ब्यहोरा हुन्थ्यो सायद अहिले पनि हुन्छ । तर व्यवहारमा झन्डै उल्टो । त्यो समयको कार्यकर्ता म । सहकारी संस्थामा आबद्ध भएपछि सहकारी बुझ्न थाले, अध्ययन गरे, सिके, सिकिरहेको छु ।
मेरो बुझाइमा सहकारी मानिसको जीवनका लागि एकदमै उपयुक्त पद्धति र माध्यम हो भन्ने बोध हुँदै गयो । सहकारीले पनि मानिसको जीवनमा उल्लेख्य परिवर्तन गर्न सक्छ भन्ने विश्वास पलायो र यसलाई व्यवहारमा उतार्ने प्रयास एनएमसीलाई माध्यम बनाएर काम गर्न थाले । म राजनीतिमा लाग्दा र राजनीतिले मलाई आकर्षित गर्दा पनि इमानदार र सामान्य मानिसको जीवनमा सकारात्मक परिवर्तन गर्ने चाहना थियो र छ । म भित्रको त्यो चाहना सहकारीको माध्यमबाट पनि पुरा गर्न सकिन्छ भन्ने बोध हुन थाले पछि मलाई सहकारीले नै आकर्षित गर्दै गयो जसको कारणले राजनीतिबाट म टाडिनै गएँ ।
राजनीतिमा मेरो संलग्नता, धेरथोर योगदान र पहिचान बनेको थियो र छ । त्यस कारणले पनि म जहाँ हुन्छु त्यहाँ राजनीतिको छाया पर्नु स्वाभाविकै माने । तर मैले अध्यक्ष रहेको सहकारीमा राजनीतिक प्रभाव कति पनि पर्नु हुँदैन भन्ने विषयमा सचेत थिएँ । समाजमा जस्तो चलन हाबी थियो र छ त्योभन्दा फरक भएर चल्न सहज छैन । म आफै राजनीतिक कार्यकर्ता हुँदा पार्टीको कुनै न कुनै प्रकारको दबाब, सुझाव र प्रभाव ममाथि पर्ने गर्छ नै । मैले पार्टीको यी कुनै कुरा नसुनेपछि म पार्टीका साथीहरूबाट टाढिँदै गएँ । मलाई अनौठो पनि लागेन । मेरो एक मात्र उद्देश्य मैले नेतृत्व गरेको सहकारीलाई सुशासनमा चलाउनु थियो । म आफ्नो लक्षमा दृढताका साथ उभिँदा मैले धेरै अवसर गुमाएँ र इष्टमित्रलाई खुसी पार्न सकिन । यसको बोध मलाई राम्ररी भएको छ । तर यसका लागि कुनै पश्चताप छैन । किनकि एकै पटक सबै सफलता, जस पाउन सकिँदैन भन्ने राम्ररी बुझेको छु ।
पार्टी र पार्टीको सहयोग एवं सद्भावना पाउने अवसरहरू मैले नपाउने अवस्थाले मलाई झन् धेरै सहकारीमै केन्द्रित हुने वातावरण बन्दै गयो । म सहकारीमा लागिरहे । यता सहकारी अभियानमा पनि यही अवस्था सृजना भयो । मैले अरूले जस्तो आफ्नो सहकारीको सुशासन भत्काएर सहकारी र पार्टीका नेताको सेवा गर्न सकिन । मेरो व्यक्तिगत स्वभाव पनि केही जिम्मेवार हुनसक्छ । यो कारणले मैले कतै जिम्मेवार नपाउने अवस्था बन्यो । यो घटनाले पनि मलाई आफूले नेतृत्व गरेको सहकारीमा अझै धेरै समय दिने मौका मिल्यो ।
मेरो नेतृत्वमा आजको एनएमसी अगाडि बढिरह्यो । यसको कारोबारी अङ्क, व्यवसाय र संरचना लगातार बढ्दै गयो । मैले नेतृत्व गरेको २० वर्ष भएपछि अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मलाई नै लागेको थियो । तर त्यो बेला साथीभाइको सल्लाहमा फेरी अध्यक्ष बन्न पुगे । २५ वर्ष पुगेपछि पनि छाड्नुपर्छ भन्ने लागेको थियो । त्यो बेला पनि यस्तै कुरा आयो । मेरो सक्रियता र सुझबुझ देखेर नै साथीहरूले मलाई यो मौका दिएका थिए भन्ने लाग्छ ।
२०७६ सालमा सातौँ पटक (प्रारम्भिक समिति समेत) अध्यक्षको जिम्मेवारी लिइरहँदा अर्को पटक त ३० वर्ष हुन्छ । यो निकै लामो अवधि हो भन्ने लागेकै थियो । कतिपय मानिसको मनमा पनि एनएमसीमा रामचन्द्र बाहेक अध्यक्ष हुने मानिस कोही छैनन् भन्ने प्रश्न निकै उठ्न थालेको थियो । संस्थागत सुशासन र संस्थागत विकासका लागि मैले नेतृत्व हस्तान्तरण गर्नु आवश्यक थियो । त्यसैले चुनावी वर्षको मौका पारेर २०७९ साल श्रावण महिनादेखि नै लागु हुने गरी नयाँ कार्यविधि बनाइयो । कुनै पनि व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन र पदमा दोहोरिन नपाउने नीतिगत व्यवस्था गरियो । यसो गर्दा अगाडिको कार्यकाललाई पनि गणना गर्ने नीति बनाइयो । यसो गर्दा म स्वतः अब उम्मेदवार बन्न नपाउने भएँ । अरू धेरै साथीहरू पनि स्वतः नदोहोरिने र नयाँ नेतृत्वले अवसर पाउने अवस्था बन्यो । दुई कार्यकाल पुरा गरिसकेकाहरूमा म किन परिन भन्ने अवस्था पनि रहेन । यो प्रक्रियाले नेतृत्व निर्माण, विकास र हस्तान्तरण गर्न एकदमै सहज हुने अवस्था बन्नेछ भन्ने विश्वास लिएको छु ।
एक वर्ष अगाडिदेखि नै एनएमसी परिवार भित्रका सबै जिम्मेवारीमा बस्ने साथीहरूलाई अबको अध्यक्ष म होइन भन्ने जानकारी थियो । तर, अबको अध्यक्ष को हो भन्नेमा धेरैले थरी थरिका अनुमान गरेको हुनुपर्छ । धेरैले लक्ष्मी उप्रेतीलाई अबको अध्यक्षको रूपमा अनुमान गरेको अवस्था थियो । आन्तरिक सल्लाह हुँदा लक्ष्मी सरले संस्थाको आवश्यकताका आधारमा कार्यकारी प्रमुखको भूमिकामा नै रहनु उपयुक्त हुने भन्ने राय आएपछि त्यसपछिको अवस्थामा सम्भावना भएकाहरूमा ठाकुर शिवाकोटी उपयुक्त मध्येकाबाट थप उपयुक्त हुने स्थिति थियो । उहाँ संस्थापक मध्येको एक, संस्थामा सुरुदेखि नै विभिन्न जिम्मेवारीमा बसेर आन्तरिक जीवनको महत्त्वपूर्ण कार्यहरू पुरा गर्दै आउनुभएको हुँदा उहाँलाई नै अबको अध्यक्षको रूपमा सञ्चालक समितिमा प्रस्ताव गर्दा सबैले एक मतले स्विकार्ने अवस्था बन्यो ।
निर्वाचनको लागि नामाङ्कन दर्ता गर्नुभन्दा एक महिना अगाडि नै अध्यक्षको सर्वसम्मत तय भयो । निर्वाचनको नामाङ्कनको मितिसम्म आइपुग्दा सम्पूर्ण पदाधिकारी सहित धेरै पदमा एकल उम्मेदवार पर्ने अवस्था बन्यो । लेखा समिति सदस्यमा एक र सञ्चालक सदस्यको स्थानमा मात्र आवश्यकभन्दा दुई जनाको बढी उम्मेदवार परेको अवस्था बन्यो ।
उम्मेदवारी फिर्ता लिएर अन्तिम नामावली प्रकाशन गर्ने दिन नै म काम विशेषले काठमाडौँ जानुपर्ने भयो र गएँ । दुई पदमा चुनाव हुन्छ भने अनुमान थियो । तर त्यसो हुन पाएन । विशेष गरी लक्ष्मी सर र अरू साथीहरूको पहलमा सर्वसम्मति भएको सूचना पाएँ । यो झन् राम्रो भयो ।
मैले सुरुदेखि नै नेतृत्व गरेका कारणले हुनुपर्छ धेरै मानिसमा एनएमसीको अबको अध्यक्ष को हुन्छ ? र त्यसपछि के हुन्छ ? भन्ने कुतुहुलता थियो । कतिपयले त रामचन्द्र उप्रेती हुइन्जेल संस्था राम्ररी चल्छ त्यसपछि भन्न सकिन्न भन्ने पनि गर्थे । त्यसैले पनि मैले संस्थाको नेतृत्व छाड्दै गर्दा अपनाउनु पर्ने होसियारीका बारेमा म सतर्क थिएँ । फेरी समग्र सहकारी अभियानका लागि अहिलेको अवस्था प्रतिकुल थियो । यद्यपि एनएमसीमा यस्तो कुनै समस्या थिएन ।
बाहिरबाट अरूले हेर्दा समग्र एनएमसी मैले नै थामेको छु जस्तो धेरैले ठानेको भान हुन्थ्यो । तर वास्तविकता त्यस्तो थिएन । एनएमसीमा जुन सिष्टम, पद्धति, संस्कार र सञ्जाल बनेको थियो त्यसैले सबै थामेको थियो र छ । मैले त केवल नयाँ व्यवसायका बारेमा सोच्थे र तिनमा आउने समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर धेरथोर काम गर्थेँ । समग्र संस्था चलाउने त कार्यविधिहरू बनेका थिए, छन् । समिति, उपसमिति, सदस्य र सम्पूर्ण कर्मचारीले तिनै कार्यविधिलाई अनुसरण गर्ने गर्थे । गर्छन् ।
असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नारा बनाएपछि म अलि धेरै यही विषयमा काम गर्थेँ । एनएमसीमा कति सम्पत्ति छ भन्ने कुराले भन्दा पनि कस्तो संस्था छ भन्ने कुराले नै एनएमसीको भविष्यको निर्धारण गर्छ भन्ने मेरो विश्वास थियो । यसलाई धेरैले पछ्याएको अनुभूति गरेको छु ।
संस्था सानो छदा मेरो भूमिका र म प्रतिको भरोसा अलि बढ्ता हुनु स्वाभाविकै थियो । किनकि म नै संस्थाको मुख्य जिम्मेवारीमा थिएँ । तर संस्था ठुलो हुँदै जाँदा संस्थागत विकास र संस्थागत सुशासनले मात्रै एनएमसीको भविष्य सुरक्षित गर्छ भन्नेमा मेरो पूर्ण विश्वास थियो । त्यसैले मैले यो विषयमा अलि बढता ध्यान दिएँ र त्यसलाई सबैले पछ्याउनुभयो । संस्था परिवारमा जोडिएर, जिम्मेवारीमा बसेर काम गर्ने समिति, उपसमिति, कर्मचारी सबैलाई यो कुराको महसुस थियो र छ भन्ने लाग्छ । यो अवस्था ल्याउनका लागि मैले अध्यक्षको हैसियतमा कुनै विशेष पावर केन्द्रित गरेको थिइन । संस्थाको कार्यविधि अनुसार हुने कुनै पनि काममा मेरो प्रत्यक्ष कुनै संलग्नता र हस्तक्षेप हुँदैनथ्यो । कसैले पनि संस्थाको नीति र कार्यविधि अनुसार गरेको कामको म सधैँ बचाउ गर्थेँ । सबैलाई आफूmले पाएको जिम्मेवारीमा अधिकारको प्रयोग गरेर संस्थाको हितमा काम गर्दा कुनै अप्ठ्यारो पर्दैन भन्ने अनुभूत भएको थियो भन्ने लाग्छ ।
म व्यक्तिका नियतहरूलाई पनि त्यत्तिकै नियाल्थे । व्यक्तिगत फाइदाका लागि कार्यविधिको दुरुपयोग गर्ने काम हुन सक्थ्यो र सक्छ । त्यो विषयमा चनाखो हुनुपर्छ नै । त्यसका लागि व्यक्तिका मूल्य, विश्वास, आचरण, कार्यशैली आदिमा ध्यान दिने गरिन्छ नै ।
समग्रमा र सारमा भन्दा एनएमसीमा संस्थाले स्थापित गरेको संस्कार एवं मूल्यलाई पछ्याउने ठुलो पङ्क्ति तयार भएको छ । कोही कसैले यसलाई उलङ्घन गर्ने प्रयास गरेमा त्यस्ता व्यक्ति संस्थामा धेरै दिन नटिक्ने अवस्था बनेको छ । किनकि यस्तो प्रयास धेरै दिन छोपिने अवस्था नै छैन ।
मैले संस्थाको अध्यक्षको जिम्मेवारीबाट बिदा लिँदै गर्दा संस्थाको अवस्था वित्तीय सन्तुलनका हिसाबले राम्रो छ । सङ्गठनात्मक हिसाबले मजबुत छ । ठाकुर शिवाकोटीको नेतृत्वमा बनेको पदाधिकारी सहितको सञ्चालक टिम एकदमै जिम्मेवार, लामो समयदेखि एनएमसीमा विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका, एनएमसीको ‘डिएनए’ बुझेका साथीहरू हुनुहुन्छ । यस्तो भरपर्दो समूहलाई नेतृत्व हस्तान्तरण गरेर संस्थाको संस्थापक अभिभावक भएर बस्न पाउनु मेरा लागि एकदमै सुखद कुरा हो । यस्तो सौभाग्य सबैलाई प्राप्त हुँदैन । जुन मलाई भएको ठान्छु । म आफूmलाई यस अर्थमा निकै भाग्यमानी पनि ठान्छु । एकदमै सुखद अनुभूति लिएर अध्यक्षको जिम्मेवारीबाट बिदा लिँदै छु ।
सर्वसम्मत निर्वाचित अध्यक्षसहित सबै पदाधिकारी, सञ्चालक र लेखा तथा सुपरिवेक्षण समितिका साथीहरूलाई हार्दिक बधाईसहित कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु । सर्वसम्मत नेतृत्व निर्माण गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद छ । मलाई अध्यक्षको रूपमा सधैँ सहयोग गर्ने सबै प्रति सधैँका लागि आभारी छु । आगामी दिनमा पनि मेरो अभिभावकीय भूमिका एनएमसीमा रहिरहने विश्वास एनएमसीका सबै शुभेच्छुकहरूमा दिलाउन चाहन्छु ।
प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ९ : ०० बजे
प्रतिक्रिया