बाढीको स्थितिमा सुधार

मैथिली महाकवि विद्यापतिलाई पहाडसँग जोड्नुपर्छ : सचिव भट्टराई

​​​​​​​​​​​​सर्लाही । नेकपा एमालेका सचिव योगेश भट्टराईले मैथली महाकवि विद्यापतिको योगदानबारे सबै नेपालीले बुझ्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले मधेसमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्वबारे जानकारी दिनुपर्ने बताउनुभयो । 

मङ्गलवार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ''मैथली भाषामा महाकवि विद्यापतिको ठुलो योगदान छ, देशकै दोस्रो ठुलो भाषाका महान् साहित्यकारलाई मधेसले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।''  उहाँले मधेसमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्त्व दिनुपर्ने बताउनुभयो । 

हरिवन नगरपालिकाको ८ नम्बर वडाले वन बाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै उहाँले विद्यापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफू अझ प्रफुल्लित भएको बताउनुभयो ।

एमालेका केन्द्रीय सचिव तथा पहाडी जिल्ला ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराई अहिले पार्टीको मधेस प्रदेश इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

नेपाल बहुभाषिक र बहुजातिय फूलबारी भएकोले मधेसको बारेमा पहाडमा र पहाडको बारेमा मधेसमा पर्याप्त जानकारी हुनुपर्ने उनको भनाइ छ ।

''आफू केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा जाँदा मधेसका शिक्षक साथी भेटेर आनन्द आयो'', सचिव भट्टराईले भन्नुभयो, ''पहाडको बारेमा उहाँहरूको धेरै राम्रो बुझाई रहेछ, हामी पहाडवासीभन्दा पनि धेरै, त्यसैले पहाडले मधेस पनि त्यसै गरी बुझौँ ।'' आफू मन्त्री भएको बेला इलामको सूर्योदय नगरपालिकामा विद्यापतिको शालिक बनाउन बजेट पठाएको उहाँले स्मरण गर्नुभयो । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ३४ बजे