सुनको मूल्यमा नयाँ कीर्तिमान

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो ।  

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए । अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन् । 

बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए । यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए । 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले । उनले ८९ बल खेल्दै  दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए । यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले  १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए । 

बलिङतर्फ मलेसियाका मोहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए । सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । प्रतियोगितामा नेपालसँगै मलेसिया, सिङ्गापुर, हङकङ, मालदिभ्स, इन्डोनेसिया र थाइलैण्ड सहभागी थिए । 
 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १२ : ०५ बजे