विद्या अध्ययन नगरी ज्ञान–बुद्धि आर्जन हुँदैन
संस्कार–संस्कृति पालना नगरे पहिचान रहन्न !
असार १४ गते जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्ती केही कार्यक्रमहरूसहित मनाइयो । तर जननेता भण्डारीको सबभन्दा ठुलो योगदान जनताको बहुदलीय जनवाद (जबज) का बारेमा रचनात्मक र वैचारिक बहस त्यति हुन सकेन । जबजलाई लिएर जुन ढङ्गले चिन्तन मनन हुनुपर्थ्यो, त्यो ढङ्गले बहस भएन । जबकि यति बेला नेपालको राजनीति अस्वाभाविक रूपमा कम्फर्टेबलवादी र लोकप्रियतावादीहरूले अपहरण गरेर बाह्य पक्षलाई बुझाउन खोजिरहेको यस्तो परिस्थितिमा हामीले बुझ्नुपर्ने हो, जबजको उपादेयता र आवश्यकता अनि महत्त्व र सान्दर्भिकता पनि झन् बढेको छ ।
लोकतान्त्रिक गणतन्त्रलाई जनमुखी र देशमुखी बनाउन अनि सुशासनसहित समृद्धि सुनिश्चित गर्न पनि जबजको आवश्यकता बढी बोध हुनुपर्ने हो । यसर्थ नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले जबजलाई ठिक तरिकाले बुझ्ने र त्यसअनुसार व्यवहार गरेर जनतालाई पनि यसको महत्त्व बुझाउने सामर्थ्य देखाउन सक्नुपर्छ । त्यसैले आज समय परिस्थितिले जननेता मदन भण्डारी र जबजका बारेमा सार्वजनिक बहस अनिवार्य हुँदै छ र हामीले जबजको महत्त्व र सान्दर्भिकता मनन गर्न सक्नुपर्छ ।
विचारमा व्यक्तिवादको छाया पर्न नदिऊँ
जबजलाई जनताको साथमा माथि उठाऊँ !
“लोकतान्त्रिक प्रणालीमार्फत प्रगतिशील वैचारिक राजनीतिको जगमा जनताको मन जित्दै राजनीति र राजकीय नेतृत्वमा श्रेष्ठता हासिल गरेर समृद्ध नेपाल, सुखी नेपाली बनाउनुपर्छ भन्ने जबजको मुख्य सार हो ।” तर यति बेला जबजलाई विवादित बनाउँदै कमजोर बनाउन कुण्ठावादी, उपयोगितावादी, कम्फर्टेबलवादी र लोकप्रियतावादी कम्मर कसेर लागेका देखिन्छन् । नवउदारवाद त पहिलेदेखि जबजलाई असान्दर्भिक देखाएर विस्थापित गर्न लागेकै थियो भन्ने कुरा दासढुंगामा सडक दुर्घटना गराएर षडयन्त्रपूर्ण तरिकाबाट जननेता मदन भण्डारीको २०५० जेठ ३ गते हत्याले प्रमाणित गरेकै छ ।
आज जबज मान्छौँ भन्नेहरूले बुझ्नै पर्छ, जबज जपेर मात्र हुँदैन, जबजको चरित्रअनुसारको व्यवहार पनि गर्न सक्नुपर्छ । अनि मात्र जबजप्रति नेता तथा कार्यकर्ता र जनताको आकर्षण व्यापक बनाउनलाई सकिन्छ । जबज मार्क्सवादको विकसित रूप हो भन्ने यथार्थ प्रगतिशील जनमतलाई बुझाउनुपर्छ । आज वास्तवमा जबज जनताको हो भनेर बुझाउने र जनतालाई परिपूर्ण लोकतन्त्रको पक्षमा लाग्न प्रेरित गर्नुपर्ने समय भएको छ । किनभने नेपाली काँग्रेसले भित्र्याएको नवउदारवाद र प्रचण्डको उपयोगितावादले धनी झन् धनी र गरिब झन् गरिब हुने नीतिहरू लागु हुँदा नेपालले अपेक्षित गतिमा आर्थिक प्रगति गर्न पाएन । माफिया तन्त्र र दलाल पुँजीवाद मौलायो। अहिले त नवउदारवाद र उपयोगितावादको फ्युजनबाट कम्फर्टेबलवाद र लोकप्रियतावाद पो जन्मियो । यसले राष्ट्रिय अस्मितामाथि सङ्कट आउँदै छ भन्ने सङ्केत गरेको छ ।
विचार शून्य स्वतन्त्र व्यक्ति, नयाँ दल हुन् कि कम्फर्टेबल बनेकाहरूले सत्ता गठबन्धनमार्फत नेपालमा नियन्त्रित अस्थिरता बढाउने काम गरिरहेको समयमा जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा ‘जबज’ लाई देश समृद्ध जनता सुखी बनाउनमा एमालेले विशेष भूमिका निर्वाह गर्न सक्नुपर्छ अन्यथा देशप्रति गद्दारी हुनेछ । जबजले भन्छ, लोकतान्त्रिक गणतन्त्रमा शासक कोही हुँदैन, राज्य आदेशले होइन नीति र विधिले चल्छ । जनता सार्वभौम हुन्छन् र संवैधानिक सर्वोच्चता कायम हुनेछ । तर यति बेला चरित्र, नैतिकता र विचारहीन पक्षको पछि–पछि नयाँ पुस्ता लागेको छ । जसले गर्दा प्रगतिशील वैचारिक राजनीतिमाथि चुनौती थपिएको छ ।
चरित्र, संस्कार र विचारहीन शक्तिले सधैँ विनाश निम्त्याउँछ भन्ने कुरो हामीले ठिक ढङ्गले नबुझ्दा पछिल्लो तीन दशकको राजनीतिमा पहिले प्रचण्डको उपयोगितावादले दुःख दियो र ध्वंस मच्चायो भने अहिले बालेन्द्र शाह, रवी लामिछाने र रेशम चौधरीहरूको सस्तो लोकप्रियतावादले चर्चा कमाउँदै छ जसरी २०५२ पछि प्रचण्डको उपयोगितावादले अस्वाभाविक चर्चा पाएको थियो । यो चर्चाको भोलिका दिनमा देश र जनताले अकल्पनीय दुःख व्यहोर्नुपर्ने हुनसक्छ । किनभने नेपालमा नियन्त्रित अस्थिरता बढाउन उपयोगितावाद, कम्फर्टेबलवाद र लोकप्रियतावादलाई बाह्य पक्षले उपयोग गर्दैछ ।
तैपनि सञ्चार जगत स्वतन्त्र र निष्पक्ष भएर यस्ता देश विरोधी शक्तिका गतिविधिहरूका विरुद्ध सशक्त भएर क्रियाशील हुन सकेका छैनन् । जसका कारणले उपयोगितावाद, कम्फर्टेबलवाद र लोकप्रियतावादको आडमा नेपालको राजनीतिमा अराजकता र स्वछन्दता मौलाउँदै छ । यसलाई उपयोगितावादी, कम्फर्टेबलवादी र लोकप्रियतावादीहरूले राजनीतिक पुँजी मानेका छन् भने जनताले आफ्ना अपेक्षाहरू पूरा हुने आधार ठानेका छन् । यसबाट बुझ्न सकिन्छ, जनता अझै सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत तिनीहरूले भ्रमित भाष्य स्थापित गर्न र जनतालाई भ्रमित बनाउन सफल देखिएका छन् ।
राजनीतिमा यो खालको विकृत प्रवृत्ति र पात्रहरूलाई राम्रो देखाउन, टिकाउन र बिकाउन व्यापक रूपमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूको दुरुपयोग भइरहेको छ । बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने उखान चरितार्थ हुँदै छ । अनि त नयाँ पुस्ता लहलहैमा लागेर खराबलाई असल देख्दै छ र देश विरोधी शक्तिहरूलाई बलियो बनाउने गरी आफ्नो क्षमताहरू प्रयोग गर्दैछ । यसका पछाडि सामाजिक सञ्जाल र सञ्चार माध्यमको विशेष भूमिका देखिन्छ । परिणाम स्वरूप सूचना, सञ्चार र सामाजिक सञ्जालमार्फत प्रस्तुत भइरहेको अराजकता, स्वछन्दता र बौद्धिक दरिद्रताले हाम्रो चरित्र र असलीयत उजागर गरिरहेको छ । तैपनि हामी गर्वका साथ प्रस्तुत भएर भन्छौँ, भ्रष्टाचार नगरौँ। सामाजिक सञ्जालमार्फत सूचना र सञ्चारमा भइरहेको भ्रष्टाचारको विपक्षमा कसले बोली दिने ?
त्यसैले आज राष्ट्रको दीर्घकालीन हितविपरित जबरजस्ती ल्याइएको नागरिकता विधेयक होस् कि ग्रेटर नेपालको नाममा भारतीय स्वार्थ पूरा गर्ने रणनीतिको विरुद्धमा बलियो तथा देशभक्त शक्ति निर्माणका लागि पनि यति बेला जबजबाट जनतालाई प्रशिक्षित र दीक्षित बनाउनुपर्ने राजनीतिक परिस्थिति बनेको छ । विश्व कम्न्युनिष्ट आन्दोलनको अनुभव र नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक तथा तात्कालिक तथ्यका आधारमा जननेता भण्डारीले तीन दशकअघि नै जबजलाई नेपालको कम्न्युनिष्ट आन्दोलनको सिद्धान्त बनाउन खोजेका थिए । तर नवउदारवादले षडयन्त्रमूलक तरिकाबाट हत्या गरेर ३० वर्षअघि नै उनको विचार मार्न खोजेको थियो ।
यस सन्दर्भमा प्रा.डा.बद्रीविशाल पोखरेल लेख्नुहुन्छ, “मदन भण्डारीले जनताको बहुदलीय जनवाद रातारात तयार पारेको हो र ? विश्व कम्न्युनिष्ट आन्दोलनका तमाम उतार चढावको गहिरो अध्ययन गरेर नेपाली समाज र नेपाली कम्न्युनिष्ट आन्दोलनलाई सूक्ष्म अध्ययनको परिणाम हो । ‘नेकपा एमाले सैद्धान्तिक वैचारिक दृष्टिले धनी पार्टी बनाउने मदन भण्डारी हो । कति धनी हो भन्ने कुरा नेपाल मात्र होइन दुनियाँसँग तुलना गर्दा पनि हुन्छ ।”
अब जननेता भण्डारीले यतिको धनी बनाएको पार्टीलाई गरिब बनाउन एकताकाका उनकै सहयात्री माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल अनि केही कार्यकर्ता घनश्याम भुसाल, राजेन्द्र पाण्डे, विरोध खतिवडाहरू नवउदारवादको बुई चढेर सक्रिय भइरहेको अवस्थामा नेकपा एमालेको मूल नेतृत्वले त्यागको भावनासहित वैचारिक योगदान दिन सक्नुपर्छ । अनि पार्टीलाई जबजको वैचारिक जगमा माथि उठाउन कार्यकर्ता तथा शुभचिन्तकहरूलाई पनि जबजबाट अझ बढी दीक्षित बनाउनुपर्छ ।
हामीले बुझ्नुपर्छ, “परिपूर्ण लोकतन्त्रले लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र निष्पक्ष विश्व व्यवस्थाको माग गर्दछ र अधिकारको उपभोग र असल विश्वासका साथ दायित्वहरू पूरा गर्ने बीच सन्तुलन खोज्छ । यसको आधार सार्वभौम समानताको सिद्धान्त हो ।” नेपालको सन्दर्भमा २०४९ साल माघमा नेकपा एमालेको पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव जननेता मदन भण्डारीले जबजमा लोकतान्त्रिक प्रणाली बुर्जुवा दक्षिणपन्थीहरूको पेवा होइन भन्दै कम्न्युनिष्टहरूले आफूलाई जनताबाट नियमित वा आवधिक अनुमोदन गर्ने लोकतान्त्रिक अभ्यासलाई आत्मसाथ गरेर राजनीति गर्नुपर्ने विचार, नीति र कार्यक्रम प्रस्ताव गर्नु भएको थियो । त्यतिखेर नै जननेता भण्डारीले जबजमार्फत परिपूर्ण लोकतन्त्रको पक्षमा मार्ग निर्देश गरेको देखिन्छ ।
जबज नेपालको सन्दर्भमा आफ्नै मौलिक नयाँ जनवाद हो । यसका मुख्य विशेषताहरूले परिपूर्ण लोकतन्त्रको पक्षमा पैरवी गर्छ भन्ने कुरा जबजका निम्न विशेषताहरूले प्रमाणित गर्छ ।
१. संवैधानिक सर्वोच्चता,
२. बहुलवादी खुला समाज,
३. शक्ति पृथकीकरणको सिद्धान्त,
४. मानव अधिकारको रक्षा,
५. बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली,
६. आवधिक निर्वाचन,
७. बहुमतको सत्ता पक्ष र अल्पमतको प्रतिपक्ष,
८. कानुनको शासन,
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण,
१०. राष्ट्रिय स्वार्थमा विदेशी पुँजी र प्रविधिको प्रयोग,
११. नयाँ समाजको निर्माणमा सकारात्मक योगदानका लागि उचित क्षतिपूर्ति,
१२. पञ्चशीलको सिद्धान्तअनुरूपको विदेश नीति,
१३. सेवा, पहलकदमी र प्रतिस्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने र
१४. प्रगतिशील संस्कृति तथा शिक्षा अर्थात् नयाँ पुस्ताका लागि नयाँ शिक्षा ।
आज नेपालको राजनीतिको मुख्य समस्या भनेकै भ्रमले बजार पाउने र विचारको राजनीतिले डराउनुपर्ने बाध्यता हो । कम्फर्टेबलवाद र लोकप्रियतातावाद मार्फत बाह्य हस्तक्षेप बढाउने रणनीतिलाई व्यालेट विद्रोहको नाम दिइएको छ र जनतालाई भ्रमित बनाउँदै नेपालको राजनीतिमा जेलेन्स्की पथमार्फत पश्चिमले युक्रेनमा झैँ आफ्नो वर्चस्व कायम गर्न खोज्दै छ । त्यसैले त अहिले नवउदारवाद र उपयोगितावादको फ्युजनबाट जन्मिएको कम्फर्टेबलवाद र लोकप्रियतावादले पुर्याउन सक्ने क्षतिबाट देशलाई जोगाउन र समृद्ध नेपाल, सुखी नेपाली बनाउन पनि जबजको आलोकमा नेपालको कम्न्युनिष्ट आन्दोलन बलियो बनाउनुपर्छ । गलत भाष्यबाट अगाडि बढ्न खोजेको समाजलाई ठिक बाटोमा हिँडाउन र जबजको वैचारिक जगमा देशमुखी राजनीति अघि बढाउन अनि हाम्रा सबै खालका पहिचानहरू जोगाउन हामीले जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्तीलाई विशेष अवसरको रूपमा उपयोग गर्ने सामर्थ्य देखाउन सक्नुपर्छ।
प्रकाशित मिति : १८ असार २०८०, सोमबार ८ : १३ बजे
प्रतिक्रिया