बाढीको स्थितिमा सुधार

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथिको छलफल हुनेमा आशङ्का कायमै

दाङ । लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेटमाथि छलफल हुने भएको छ । 

लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि पेस गरेको बजेटमाथि आज छलफल हुन लागेको हो । जसका लागि आइतबार प्रदेशसभा बैठक बस्दै छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्ता पक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैँ आशङ्का कायमै छ ।

नेपाली काँग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन । जसका कारण बजेट माथि सांसदहरूको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पूर्व निर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेटमाथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टेपछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गर्नुभएको थियो । 

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ४२ बजे