बाढीको स्थितिमा सुधार

संसद्को गतिशीलता राजनीतिक दलबीचको सहमतिमा निर्भर हुन्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को गतिशीलता र क्रियाशीलता राजनीतिक दलबीचको आपसी सद्भाव, सहमति र समन्वयमा निर्भर रहने बताउनुभएको छ । 

६५औँ संसद् दिवसको अवसरमा सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले शनिवार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको समेत बताउनुभयो । 

उहाँले जनअपेक्षाअनुसार संसद्को प्रभावकारितामा राजनीतिक पार्टीको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । “आर्थिक, सामाजिक र राजनीतिक विकाससँगै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो । 

उपसभामुख इन्दिरा राना मगरले सकारात्मक सोचका साथ सबै राजनीतिक दलहरू मिलेर देशको आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । 

सो अवसरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै शान्ति, स्थायित्व, तीव्र विकास र पारस्परिक सम्बन्धको विकास गर्नुपर्ने जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “पछिल्लो पटक संसद् विघटन गरिएको थियो, त्यस बेला जनता अधिकारको निम्ति सडकमा आएका थिए, अब कसैले पनि संसद् विघटन गर्ने कल्पना पनि गर्नु हुँदैन ।” सकारात्मक सोचका साथ इमानदारीपूर्वक देश विकासमा लाग्नुपर्ने अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको नाममा दलित, महिला, आदिवासी जनजातिलगायत सीमान्तकृत समुदायको अधिकार कटौती गर्न नहुने बताउनुभयो । 

पूर्व सभामुख दमननाथ ढुङ्गानाले पछिल्लो समयमा जनतामा आक्रोश बढ्दै गएको भन्दै राजनीतिक नेताहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । 

विसं २०१६ मा आजकै दिन नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरीमा बसेको थियो । उक्त बैठक राति ११ बजेर ४५ मिनेटको साइत पारी बोलाइएकामा प्रारम्भ भने मध्यरात ठिक १२ बजे भएको थियो । पहिलो संसद्को अवधि डेढ वर्षे रहेको थियो ।

कूल एक सय नौ सांसद निर्वाचनका लागि विसं २०१५ फागुन ७ गते मतदान सुरु भएकामा साढे दुई महिनापछि अर्थात् विसं २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक सो वर्षको असारमा बोलाइएको थियो ।

उक्त निर्वाचनमा नेपाली काँग्रेसले ७४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले पाँच, नेपाल कम्युनिस्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (आचार्य)ले  दुई र नेपाल प्रजापरिषद् ९मिश्र०ले एक स्थानमा विजयी भएका थिए । साथै स्वतन्त्र चार जनाले पनि संसद्मा प्रतिनिधित्व गरेका थिए । 

हाल सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दुई सय ७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रियसभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहन्छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : १६ बजे