बाढीको स्थितिमा सुधार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उहाँले बताउनुभयो ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ६ : ४६ बजे