कहीँ दशक अगाडिसम्म नेपाली समाजमा धान र धान खेतको भिन्नै किसिमको सामाजिक, आर्थिक र सांस्कृतिक महत्त्व थियो । धान खेत धेरै हुने किसानहरूलाई सम्पन्न परिवारको रूपमा मानिन्थ्यो । त्यसमा प्रायजसो समाजका अगुवा कहलिएका मुखिया, जिम्मावाल र जमिन्दारहरु हुने गर्दथे । स्वाभाविक रूपमा उनीहरूको समाजमा इज्जत र प्रतिष्ठा बढी हुने गर्दथ्यो । जसले गर्दा समुदायका सामाजिक क्रियाकलापहरूमा उनीहरूको हैकम पनि चल्दथ्यो । धान खेत नहुने परिवारलाई सामाजिक रूपमा हेलाको भावले हेर्ने र आर्थिक रूपमा गरिब मानिन्थ्यो । पहाडी क्षेत्रमा धेरै किसान परिवारको त धान खेत नै हुँदैनथे । धेरै धान खेत धनी परिवारको हातमा हुने गर्दथे । उनीहरूका गैरी खेत र फाँटहरू हुन्थे जहाँ सिँचाइको राम्रो सुविधा हुन्थ्यो । उत्पादन पनि राम्रो हुने गर्दथ्यो । तर धनी परिवारका पुरुषहरूले भने हिलो पनि कुच्दैनथे, सबै काम बेठी लगाएर गर्ने चलन थियो ।
समुदायका प्रत्येक घरधुरीबाट एक एक दिन समाजका अगुवा कहलिएका मुखिया, जिम्मावाल र जमिन्दारहरुको रोपाइँमा श्रमदान गर्न जाने प्रथा नै बेठी प्रथा हो । धनी किसानको रोपाइँमा बाजागाजा बजाउने चलन पनि थियो जसमा बाली (असारे गीत) गाउँदा त झन् रमाइलो थपिन्थ्यो । यसलाई ठुलो रोपाई भन्ने चलन थियो । दिउँसोको खाजा खेतको मालिकले बेठी तिर्न गएका खेतालाहरूलाई खुवाउने चलन थियो जसलाई भोजको रूपमा लिने गरिन्थ्यो । लहरै बसेर खाजा खाँदाको दृश्य साह्रै रमाइलो हने गर्दथ्यो । सहनाइ र झ्याली बाजामा बाली गाएको हेर्न बाहिरी मानिसहरू पनि झुम्मिएका हुन्थे । यसरी नै धान स्याहार्ने समयमा पनि बेठी लगाउने चलन थियो ।
पहिले पहिले छोराको लागि कन्या माग्न जाँदा कन्याका बाबु आमाका तर्फबाट धान खेत कति छ भनी सोध्ने चलन थियो । छोरीका लागि वरको घर हेर्न जाँदा परालको माच÷कुन्यू हेर्ने प्रचलन थियो । धेरै किसानका हातमा थोरै मात्र धान खेत थिए, भएकासँग पनि सिँचाइको सुविधा नभएका वर्षे झरीको भल छोपेर रोपाई गर्न सकिने टारी खेत मात्र हुन्थे । यस्ता खेतमा धान उत्पादनमा धेरै परिश्रम लाग्ने र उत्पादन कम हुने भएता पनि धान, चामलको महत्वका कारण किसानहरू असार महिना भरि धान रोपाइँमा रमाएका देखिन्थे । असार महिनामा आकाशे पानी नपरेमा श्रावण महिनासम्म पनि पर्खेर रोपाइ गर्ने गर्दथे किनकि धान रोपाइमा सामाजिक इज्जत र प्रतिष्ठा थियो । रोपाई सिद्धिएको दिनमा सकेसो खाने चलन थियो । यसमा धेरै उल्लासका साथ मासु भात खाने नाच्ने चलन यद्यपि छ ।
आजभोलि जस्तो यातायातको सुविधा थिएन । चामल किन्नका लागि दुईदेखि चार दिन लगाएर तराई मधेसमा गएर मानिसले बोकेर पहाडी जिल्लाका दुर्गम स्थानहरूमा पुर्याउनुपर्दथ्यो ।
यस्तै कारणले गर्दा नेपाली समाजमा धान उत्पादनलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा धेरै प्रकारका कृषि उपजहरू उत्पादन गरिन्छ । सबै कृषि उपजहरूको आ–आफ्नै महत्त्व रहेको पाइन्छ । नेपाली समाजमा चामललाई मिठो र प्रतिष्ठित खानाको रूपमा हेरिने गरिन्छ ।
हाम्रा प्रत्येक धार्मिक संस्कार तथा चाडपर्वहरूमा धान चामलको प्रयोग धेरै गरिन्छ, चाहे त्यो दशैको अक्षताको रूपमा होस वा विवाह, व्रतबन्ध, पासनी न्वारान र त्यसमा पाक्ने परिकारहरू पुलाउ, खीर र सेल रोटी इत्यादि ।
धान उत्पादनलाई विशेष महत्त्व दिएकै हुनाले असार महिना र यसको पन्ध्रलाई कतै धान दिवस तथा किसान दिवस भनेर मनाउने गरिन्छ । प्रत्येक नेपाली जात जातिको लागि धान उत्पादन गर्न असारे रोपाइँले विशेष महत्त्व राख्दछ । नेपालको भौगोलिक बनावट,हावापानी र यहाँको मौसम अनुसार असार महिनालाई वर्षे धान रोपाइँको लागि उत्तम मानिन्छ । यति बेला उच्च पहाडी क्षेत्रहरू, मध्य पहाड, भित्री मधेस तथा तराईमा रोपाँईको रौनक चल्दछ ।
परिवारका र समाजका ज्येष्ठ नागरिकहरू तथा हजुरबुवा हजुरआमाहरू भन्नुहुन्थ्यो “असारको महिनामा असुरोको पात टिपेर फाले पनि जाग्दछ । असार महिना जुनसुकै बिरुवाहरू रोप्ने समय / मौसम हो चाहे त्यो अन्नबाली होस वा फलफूल यो त मुठी रोपेर मुरी फलाउने समय हो । असारे रोपाइँका दिनमा मानिसको मृत्यु भएमा पनि लासलाई ढाकेर रोपाइँ गर्नुपर्छ भन्ने कथन थियो । यो महिनामा त अल्छी गर्न हुँदैन, गर्नेलाई त अनिकाल लाग्दछ । असारको महिनामा त अल्छीलाई मात्र निद्रा लाग्दछ”। कृषि कार्य शुभ कार्य मानिने हुँदा बाली सुरु गर्दा भगवान्लाई सम्झना गर्ने र बालीनाली खासमा धान स्याहार्ने समयमा भँुइपाथी छुट्टयाएर कन्यालाई दिने, नयाँ धान कुटाएर दहीमा चामल भिजाएर न्वागी भगवान् र पितृलाई चढाएर सबैले न्वागी खाने जस्ता धार्मिक परम्परा हाम्रो समाजमा विद्यमान छ ।
हातमा लिम्ला कलम र मसी कागजपत्रलाई आहाई कागजपत्रलाई
पहिलो चरण गाएको गीत उल्काकी चन्द्रलाई आहाई उल्काकी चन्द्रलाई
लौ त बा लौलाैै लौ त बा लौलौ उल्काकी चन्द्रलाइ !
श्रीमतीले आफ्नो श्रीमान् अल्छी भएमा यसरी असारे भाकामा वाली भन्ने चलन थियो । रोपाइको समयमा बहाना गरी आलस्य गर्नेलाई पनि गीतैमा छेड हान्ने र सम्झाउने गरिन्थ्यो ।
छुप र छुपी बीउमा गोडिम असारे रोपाँईलाई, आहाई असारे रोपाँईलाई
जहिलेमा आउँछु सुतेकै देख्छु के भयो तपाइलाई , आहाई के हुन्छ तपाइलाई ??
माझी र दाइले माछी है छोप्यो तारको बल्छीले, आहाई तारको बल्छीले
असारको महिना ढाड दुख्यो अरे के भन्छ अल्छीले ? आहाइ के भन्छ अल्छीले !!
तीजमा माइत जाउली बुहारी भनेको मानन
असारमा माइत गएत फेरी के हुन्छ जानन,
सबैले सुन मनले गुन, के हुन्छ जानन, असारमा अल्छी गरे त फेरी के हुन्छ जानन ?
नेपालमा कृषि उत्पादनका लागि महिलाहरूको ठुलो भूमिका रहेको छ । हाम्रो देशमा विकसित देशहरूमा जस्तो कृषि यन्त्रको विकाश अझ पनि नभै सकेको अवस्थामा खेतमा गर्ने कामदेखि रोपाइको तयारीका लागि घर भित्र गर्ने काममा महिलाहरू सधैँ व्यस्त रहन्छन् । खास गरी धान उत्पादनका (रोपाइँ, गोडाइ र स्याहार्ने काममा) लागि उनीहरू रातभरि बसेर रोपाइँको लागि दुना टपरी गाँस्ने काम धेरै पहिलादेखि नै गर्ने चलन थियो । दुना र टपरी माला जस्तो बनाएर घरको बतासीमा सजावट जस्तै गरी राखिएका हुन्थे, जुन धान रोप्ने समयमा खाजा÷अर्नी,खाना खुवाउनमा प्रयोग गरिन्थ्यो । अहिलेको जस्तो कागजका पिलेटहरू भएको भए सायद उनीहरू रातमा आराम गर्न पाउँदथे होला । उनीहरू अरू महिनामा पनि घरभित्रका र कृषि काममा नै व्यस्त हुन्थे । अझ असारको महिना त दिनभरि काम गरे पनि रातमा मुस्किलले दुई घण्टा मात्र सुत्न पाउँथे होला । भोलिको रोपाइँको खाना र खाजा तयारीका लागि रातभरि खटिनुपर्दथ्यो । चनाका बिरम्ला, चामलको पुवा, गहुँका रोटी तथा धुलाेे चटनी÷अचार आदि लिएर मेलोमा पुग्न पर्ने हुँदा उनीहरूलाई निद्रा नै आउँदैनथ्यो। । असारका दिन महिना जत्रा लामा भन्ने गरिन्थ्यो तथापि रोपाइँको चटारोले दिन बितेको थाहा नपाउने गरी काम गर्दथे । धेरै खेत हुने परिवारमा त यो काम श्रावण महिना भरी पनि चल्दथ्यो। जतिसुकै थकाई लागे पनि रोपाइँको लागि गोरु, हली, खोकारे, कोदाले, खेतबारी, खेतमा पानी र तयारी बीउ सबै जुटेको अवस्थामा उनीहरू यति खुसी देखिन्थे कि कामलाई उनीहरू मनोरञ्जनका रूपमा लिएर आनन्द लिन्थे । आफू आफूमा हिलो छ्यापेर एक अर्कालाई गितीलयमा जिस्काउने गर्दथे । अर्मापर्मा गर्ने चलनले त झन् दिदी बहिनीहरूको भेटघाट हुने,सुख दुखका कुराहरू वाली गाउँदै सुनाउने गर्दथे । मनोरञ्जनका साधन केही थिएनन् । अहिलेका युवा दिदी बहिनीहरूलाई जस्तो फुर्सद र टिकटक बनाउन मिल्ने मोबाइलको सुविधा पनि थिएन । काममा नै जोस, जाँगर, उत्साह थियो । कसैले थकाइ मेट्न विश्राम लिएमा गीतैमा सुनाइन्थ्यो जुन रमाइलो र मार्मिक पनि हुन सक्थे । एक अर्कासँग ठटेउली पनि गरिन्थ्यो ।
छुपुमा छुपूँ रोपाइँ धान हातमा बीउ छउन्जेल, आहाई हातमा बीउ छउन्जेल एक महिना घर १५दिन माइत आमाको जीउ छउन्जेल आहाइ आमाको जीउ छउन्जेल पातको बेरी लौ भन फेरी आमाको जीउ छउन्जेल, आहाइ आमाको जीउ छउन्जेल !
गहिरी खेतको दबदबे हिलो गोरुले कुचेको आहाइ गोरुले कुचेको
हेर्नुस् त दिदी दर्लामे चुल्ठो सौताले लुछेको आहाइ सौताले लुछेको
पातको बेरी लौ भन फेरी सासुले लुछेको आहाइ सासुले लुछेको !
असारै मास अरनी लानी बेतको डालीमा, आहाई बेतको डालीमा
घ्यू किम्ली आउला चिटिक टोक्ला नबस आलीमा, आहाई नबस आलीमा
सबैले सुन मनले गुन, नबस आलीमा, आहाई नबस आलीमा !
आजको खाजा के खाइम हामीले केराउका बिरम्ला आहाइ केराउका बिरम्ला
आजका हाम्रा खोकारे दाइका सुकेका पिरम्ला आहाइ सुकेका पिरम्ला
पातको बेरी लौ भन फेरी सुकेका पिरम्ला आहाइ सुकेका पिरम्ला !
यस्ता रमाइला र उत्साहजनक संस्कार र रीतिरिवाज भएको हाम्रो कृषि प्रधान देशमा केही दशक यताको परिस्थिति भने अलि परिवर्तन हुँदै आएको देखिन्छ । कृषि मन्त्रालयको तथ्याङ्क लाई हेर्ने हो भने करिब ६५ प्रतिशत जनता कृषिमा पेसामा संलग्न छन् ।त्यसमा पनि महिलाको सङ्ख्या ८५ प्रतिशतभन्दा बढी नै देखिन्छ तर व्यवहारमा हेर्ने हो भने नयाँ पुस्ताका युवाहरू (महिला तथा पुरुष ) कृषि पेसाबाट टाढिँदै गएको देखिन्छ । कृषि उपजको बजार भाउ नपाउनु, सिँचाइको सुविधा नहुनु, बन्द, हडताल र महामारीका कारण उत्पादित कृषि उपज उपभोक्ता सम्म पुर्याउन नपाउनु जस्ता कारणले कृषिमा लागेका युवाहरू पनि कृषि क्षेत्रमा त्यति आकर्षित देखिएका छैनन् ।
आफ्नो देशमा रोजगारीको अवसर नभएर होला वैदेशिक रोजगारीमा जाने युवाहरूको लर्को बढेको बढै छ । बढ्दै गरेको सहरीकरण, वैदेशिक रोजगारीको अपेक्षाका कारण पछिल्लो पुस्ताका युवा महिलाहरू कृषि पेसामा लागेको देखिँदैन । वैदेशिक रोजगारीमा कमाएको धनले तराईमा र सहरमा घर÷घडेरी किन्ने प्रचलन बढेको छ । सहरका घरहरूमा कौसी खेती गरेर सामाजिक सञ्जालमा तस्बिर राख्नमा रमाउने समुदायको वृद्धि भएको छ ।
पहाडका सबै जग्गा जमिन छाडेर अन्यत्र बसाइँ सर्नेको लहर पनि कम छैन । यसबाट पहाडी क्षेत्रका सुविधा भएका गाउँघरहरू पनि रित्तिँदै गएका छन् । घरहरू भत्किने अवस्थामा पुगेका छन् भने खर बारीमा काँढा, खेतबारीमा बनमारा मौलाएको देख्न पाइन्छ । पहाडका कृषियोग्य जमिन बाझिँदै गएका छन् भने सहरी क्षेत्र र तराईका उर्वर भूमिलाई टुक्रा (खण्डीकरण) पारेर बेच्ने कामले व्यापकता पाएको छ ।
सहरीकरणका कारण वन जङ्गल फडानी, काठ चोरीका घटनाहरूले गर्दा तराइको जैविक विविधतामा ह्रास आएको छ । चुरे विनाशले त झन् तराईका पानीका मुहान नै सुकेका छन् भने मनसुनको खहरेले खेतीयोग्य जमिन कटान गर्ने क्रम बढ्दो देखिन्छ । अन्नको भण्डार भनिने तराईका फाँटहरू पनि लगानी धेरै उत्पादन कम हुने र विदेशबाट आयातित खाद्यान्न किन्दा सस्तो पर्ने हुँदा कृषि पेसालाई नयाँ पुस्ताका किसानहरूले नरुचाएको देखिन्छ । सिँचाइको सुविधा नभएका जिल्लाहरूमा वर्षा याममा पनि धेरैजसो धान खेतहरू बाँझो देख्न थालिएको छ ।
नयाँ पुस्ताको कृषि क्रियाकलापहरूमा मात्र होइन खाद्य निर्भरतामा पनि ठुलो परिवर्तन आएको पाइन्छ । मकै, गहुँ जौ, कोदो, फापरभन्दा चामलको भात, म: म:, पिजा, चाउमिन, चाउचाउ र पाउरोटी जस्ता तयारी खानालाई धेरै प्रयोग गरेको पाइन्छ । कतिपय लाई त धान, गहुँ, जौ, कोदो र फापरको बोट छुट्टयाउन पनि मुस्किल पर्दछ । आफ्नो देशमा पाइने खाद्य उत्पादन, औषधिजन्य बोट बिरुवाहरू तथा जडीबुटीको पनि महत्त्व नबुझे अवस्था सृजना हँँदैछ । कम्प्युटर, मोबाइल र टिभी जस्ता साधनमा नै व्यस्तता बढेको छ । यसबाट समाजमा सकारात्मकभन्दा नकारात्मक प्रवृत्ति मौलाएको पनि देख्न र सुन्न थालिएको छ । यसका साथै महँगा कपडा, गर गहनाको प्रयोग र पार्टी, पिकनिक,भोजभतेर पनि पहिलाभन्दा धेरै भएको देखिन्छ । असारको महिना खेतमा देखिने भिडभाड आजभोलि रेस्टुरेन्ट पार्टी प्यालेस तिर लम्किएको देखिन्छ । हाम्रा आफ्ना मौलिक परम्पराहरू, कला, संस्कृति, चाल चलन र रीतिरिवाजहरूमा पनि ह्रास आउन थालेको आभास हुन्छ ,यो सुखद पक्ष होइन । असारे रोपाई, बालीको रौनक कसैलाई थाहा छैन आहाइ कसैलाई थाहा छैन ।
मोबाइलमा तस्बिर टिकटक बनाई नराखी भा छैन आहाइ नराखी भा छैन मध्य पुस्ताका किसानहरू (महिला तथा पुरुष) भने सकी नसकी आ–आफ्नो परम्परालाई धान्दै खेतबारी बाँझो राख्न मन पराउँदैनन् ।अहिले नेपालका मधेस, भित्री मधेस, उपत्यकाहरू र केही पहाडी क्षेत्रमा असारको महिनामा जुन रोपाइँको रौनक देखिन्छ त्यो यसै मध्य पुस्ताका किसानहरूको सक्रियताले मात्र सम्भव भएको छ । तर उनीहरू आफ्ना सन्तानलाई भने कृषिमा भन्दा अन्य क्षेत्रमा स्थापित हुनका लागि उत्प्रेरित गर्दछन् । जोस, जाँगर र क्षमता भएका ऊर्जावान् पुस्ताले अर्काको देशमा पसिना र रगत बगाउने वृद्धा र बालबालिकाहरू मात्र घरमा हुने यस्तो वातावरणमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक देखिन्छ । कृषिप्रधान देशमा यस्तो अवस्थामा सुधार ल्याइएन भने आफ्नो देशमा उत्पादन गर्न सकिने कृषि उपजमा समेत पर निर्भरता बढ्नेछ जसले गर्दा राज्यले सधैँभरि व्यापार घाटा व्यहोर्न पर्ने हुन्छ ।
यसरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न कठिन हुनेछ । नेपाल जलश्रोतमा धनी देशमा पर्दछ, यहाँका धेरैजसो ठाउँहरूमा एक वर्षमा तीन खेती गर्न सकिन्छ । प्राकृतिक श्रोत र साधनमा, जैविक विविधतामा, मानव संसाधनमा तथा परम्परागत ज्ञान र सीपमा पनि धनी राष्ट्र भएको हुँदा आफ्नै देशमा भएका विविध अवसरहरूलाई बिर्सेर अर्काको पछि लाग्न हुँदैन हाम्रा आफ्ना मौलिक परम्पराहरू, कला, संस्कृति, चाल चलन र रीतिरिवाजहरू लाई उजागर गरेमा मात्र हामी संवृद्ध र सुखी हुनेछौँ ।
(लेखक खनाल वन तथा प्राकृतिक स्रोतसाधन व्यवस्थापन विज्ञ हुनुहुन्छ)
प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार ९ : २८ बजे
प्रतिक्रिया