मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गर्नुभएको छ । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले बरको बिरुवा रोप्नुभएको हो । 

अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र माववबीच अन्योन्याश्रिक सम्बन्ध रहेको बताउनुभयो । 

एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ । 

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो । एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।  

उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । 
–––

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  १० : ५५ बजे