जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ। नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७२औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

मदन भण्डारी फाउन्डेशन र नेकपा एमाले तथा पार्टीसँग आबद्ध जनसङ्गठनहरूले मदन जयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् ।

भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशन आज विशेष कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौँमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा र पूर्व प्रधानमन्त्री एवं फाउण्डेशनका संरक्षक केपी शर्मा ओलीको विशिष्ट आतिथ्यमा हुने मदन भण्डारी राष्ट्रिय पुरस्कार एवं मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार वितरण तथा ''जबजका आयाम तथा विशेषताहरू” विषयक विचार गोष्ठी रहेको छ ।

त्यस्तै मदन जयन्ती कै अवसरमा नेकपा एमाले तथा उक्त पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन् । 

नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने नवीन विचारक भण्डारी छोटो समयमा नेपाली राजनीतिमा स्थापित हुनुभएका नेता हुनुहुन्छ । विश्वबाट कम्युनिष्ट शासनहरू ढलिरहेका बेला ९० को दशकमा भण्डारीले जनताको बहुदलीय जनवादको नाममा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गर्नुभएको थियो । भण्डारीलाई विश्व प्रसिद्ध पत्रिकाहरूले मार्क्स नेपालमा जीवित छन् भनेर चर्चामा ल्याएका थिए । 

२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा पिता देवीप्रसाद भण्डारी माता चन्दकुमारीका कोखबाट जन्मिनुभएका मदन भण्डारी एमालेको चौथो र पाँचौँ महाधिवेशनबाट महासचिव बन्नुभएको थियो ।

उहाँले २०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विश्व चर्चित बन्नुभएको थियो ।जननेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ७ : ०६ बजे