साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ । 

 महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ । 

यसैगरी महानगरप्रमुख बालेन शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”

 सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उहाँले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गर्नुभएको छ । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उहाँको भनाइ छ । 

उहाँले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्नुभएको छ । 
 

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : २६ बजे