उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गर्नुभएको छ । 

मङ्गलवार राति ११ः२० को उडानमार्फत उहाँ चीनको छेन्दु प्रस्थान गर्नुभएको हो। 

उहाँ बुधवार पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुने कार्य तालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ ।  

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनुहुनेछ । 

उहाँले शुक्रवार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ । उहाँले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुनेछ । 

त्यसपछि उहाँले विश्वविद्यालयको  'हाइड्रोलिक्स' र 'माउन्ट रिभर इन्जिनियरिङ' प्रयोगशालाको अवलोकन गर्ने तालिका छ । 

शनिवार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित 'हाइड्रो जक्सन', दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नुहुने छ । शनिवार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११ः१० बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।  

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल सहभागी हुनुहुन्छ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ६ : ५७ बजे